एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम गृहकार्य, साझा दस्ताबेज बनाईदै

Saturday, January 20th, 2018 |

६ माघ, काठमाण्डौँ । एमाले र माओवादी केन्द्र पार्टी एकताका लागि अन्तिम तयारीमा जुटेका छन् । त्यसका लागि पार्टी एकता संयोजन समितिको बैठक पर्सि (सोमबार) बोलाईएको छ । उक्त बैठकमा मुख्यगरी पार्टी एकताको साझा दस्तावेज बनाउने विषयमा छलफल हुनेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उद्धृत गर्दै उनका प्रेस सहयोगी मनहरि तिमिल्सिनाले जानकारी दिए अनुसार पार्टी एकताबारे ठोस निर्णय गर्न संयोजन समितिको बैठक बस्न लागेको हो ।

सोही बैठकका एजेन्डा तय गर्न शनिबार साँझ एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो ।
छलफलमा बैठकका एजेण्डाबारे छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीलाई जानकारी दिए । एमाले र माओवादीबीच नयाँ सरकार गठनअघि नै पार्टी एकता गर्ने तयारी छ ।

एकता प्रक्रियामा सबैभन्दा जटिल मानिएको पार्टी नेतृत्वका विषयमा पनि दुई अध्यक्षबीच करिव टुंगो लागिसकेको स्रोतले जनाएको छ । महाधिवेशन अघिसम्मका लागि ओली र प्रचण्ड दुबै अध्यक्ष हुने र एकजना पार्टी र अर्को सरकारको कार्यकारी नेतृत्वमा रहने विकल्पमा छलफल भैरहेको छ । यसैगरी ओली प्रधानमन्त्री बन्दा पार्टी अध्यक्षको जिम्मा प्रचण्डलाई दिने या पार्टीको सर्वोच्च नेता र अध्यक्ष बन्ने विषयमा पनि छलफल चलिरहेको स्रोतको दावी छ ।

दुई शीर्ष नेताबीच संयुक्त कार्यदलले तयार पारेको राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकारको गठनसम्बन्धी रिपोर्टका बारेमा पनि छलफल भएको थियो । ‌ओली र प्रचण्डबीच हिजो पनि करिव ३ घण्टासम्म वान टु वान वार्ता भएको थियो । दुई नेताले राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनको तर्फबाट ४३ पदका लागि उम्मेदवार उठाउन संयुक्त कार्यदलले गरेको प्रस्ताव अनुमोदन गरेका थिए । एमालेलाई २९ र माओ‌वादीलाई १४ उम्मेदवार भाग लगाइएको छ ।

VIEWS: 309