दोलखामा सबै वन कर्मचारीको सरुवा, यस्तो छ कारण

Thursday, January 18th, 2018 |

४ माघ, दोलखा। जिल्ला वन कार्यालय दोलखाले एकै साथ कर्मचारीहरुको व्यापक हेरफेर गरेको छ । कार्यालयले मातहतका अधिकृत तहदेखि कार्यालय सहायकसम्मका सबै कर्मचारीहरुको सरुवा गरेको हो । सरुवा हुनेमा सहायक वन अधिकृत देखि कार्यालय सहयोगी समेत रहेका छन् । जसमा ७ जना सहायक वन अधिकृत, ३ जना रेञ्जर, ४ फरेस्टर, २२ जना वन रक्षक र केही कार्यालय सहयोगी पनि रहेको कार्यालयका नायव सुब्बा राजेन्द्र सुवेदीले जानकारी दिए ।

जिल्ला स्थित विभिन्न उपभोक्ता समितिहरुमा वन संरक्षण, व्यवस्थापन, उपयोग र सुशासनका सन्दर्भमा गुनासो बढ्दै गएका बेला वन कार्यालयले यस्तो कदम चालेको हो । लामो समयसम्म एउटै कार्यक्षेत्रमा खटाउँदा कार्यसम्पादनमा विभिन्न गुनासो र समस्या देखिन थालेपछि यस्तो निर्णय गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

वन कार्यालय प्रमुख गोविन्द दाहालले कार्यालयबाट हुने सेवा प्रवाह र दैनिक कार्य सम्पादनलाई सुदृढ र प्रभावकारी बनाउने उदेश्यले एकैसाथ कर्मचारीहरुको सरुवा गरिएको जानकारी दिए । “वर्षौसम्म एकै ठाउँमा काम गर्दा केही न केही गडबड स्वभाविक रुपमा हुन्छ, दाहालले भने, यो समायोजन र विशेष निर्देशनपछि वन संरक्षण, विकास र व्यवस्थापनसँगै सुशासनको क्षेत्रमा सुधार हुने विस्वास लिएका छौँ ।” उनका अनुसार जिल्ला वन कार्यालय दोलखामा २० वर्ष यता पहिलो पटक यति ठुलो संख्यामा कर्मचारीको हेरफेर गरिएको हो ।

नियमित प्रक्रिया अन्तर्गत सामान्यतः २ वर्षमा सरकारी कार्यालयका कर्मचारीहरुको सरुवा गर्ने प्रचलन छ । तर जिल्ला वन कार्यालयमा यसअघि छिटफुट रुपमा मात्रै हेरफेर हुँदा कतिपय कर्मचारीहरु एउटै स्थानमा बर्षौसम्म बस्ने, आफु अनुकुल कार्यक्षेत्र बनाउने लगाएतका प्रबृत्ति बढ्दै थियो ।

वन कार्यालय स्रोतका अनुसार कर्मचारी बर्षौदेखि एउटै कार्यक्षेत्र बस्दा उपभोक्ता समुहरुससँग नाजायज सम्बन्ध बढेको, घर अनुकुल कार्यक्षेत्र हुँदा नियमित कार्यालय हाजिर नहुने गरेको र सहि ढंगले कार्यसम्पादन नहुने गरेको लगाएतका समस्या देखिएको छ ।

जिल्ला वन कार्यालय दोलखामा करिव पाँच दर्जन कर्मचारीको दरबन्दि रहेकोमा १ जना रेन्जर अध्ययन विदा र एक जना काजमा रहेका छन् डेढ दर्जन दरबन्दी हालसम्म रिक्त छ ।

VIEWS: 1782