हिमाली आयोजनामा कृषकहरुको साँढे दुई करोड बढि रकम गुम्दै
२ माघ, काठमाण्डौँ । उच्च पहाड कृषि व्यवसाय तथा जिविकोपार्जन सुधार आयोजना (हिमाली प्रोजेक्ट) का कारण विपन्न किसानहरुको करोडौँ रकम त्यत्तिकै गुम्ने अबस्था आएको छ । आयोजनाले व्यवसायिक प्रस्ताव आव्हान गरेर मुल्याङ्कन नै नगरी रद्ध गर्ने तयारी गरेपछि गरिब किसानको झण्डै साँढे दुई करोड रुपैयाँ रकम गुम्न लागेको हो ।
हिमाली आयोजनाले कृषि तथा पशुपालन क्षेत्रमा प्रस्ताव आव्हान गरेपछि कृषकहरुले प्रस्ताव पत्र (प्रपोजल) लेखन र तयारीका लागि उक्त रकम खर्च गरेका थिए । प्रस्ताव पत्र लेखनका लागि मात्रै एक जना सामान्य किसानले आयोजनाले तोकेको (प्रपोजल लेख्ने व्यक्ति) लाई २० हजार रुपैयाँ सम्म बुझाएका छन् । त्यस अतिरिक्त प्रस्ताव पत्रका लागि आवश्यक कागजात तयारी, सदरमुकाम आउँदा, बस्दा पनि त्यत्तिकै रकम खर्च भएको किसानहरुले बताएका छन् ।
आयोजनामा दर्ता भएका २ हजार ४ सय ४१ प्रस्ताव पत्रहरु मध्ये १ हजार २ सय ९५प्रस्ताव पत्रका लागि किसानले लगानी गरेको रकम खेर जाने भएको हो । ती प्रस्ताव पत्र लेखनको खर्च मात्रै जोड्दा जम्मा २ करोड ५९ लाख रुपैँया हुन आउँछ । जसमा सबैभन्दा बढि मुगु जिल्लाका किसानको ४१ लख ६० हजार रुपैया भन्दा बढि रकम गुम्नेछ भने दोलखाको ३३ लाख ४० हजार भन्दा बढि रकम बालुवामा पानी हुनेछ ।
आयोजनाले ८० प्रतिशत सम्म अनुदान दिने घोषणासहित सार्वजानिक सुचना जारी गरेर प्रस्ताव मागेका कारण यति ठुलो संख्यामा कृषकहरुले प्रस्ताव पत्र पेश गरेका थिए । हिमाली आयोजनामा व्यवसायिक योजना पेश गर्ने किसानहरुले भने आफ्ना प्रस्तावहरु मुल्याङ्कन हुने प्रतिक्षा गरिरहेका छन् ।
दोलखा कालिञ्चोक गाउँपालिका ६ का कृषक तुले थामीले हिमाली आयोजनाप्रतिको विस्वासले बिसाँै हजार खर्च गरेर योजना पेश गरेको बताए । “योजना ढिलै भएपनि आयोजनाले हेर्छ कि भन्ने आषा छ, त्यसो भएन भने त, गरिब बर्षदिनको कमाई गईहाल्यो नी, निराशा व्यक्त गर्दै उनले भने ।”