वाम गठबन्धन कार्यदलले राष्ट्रियसभाका ५६ सिट बाँडफाँडको टुंगो यसरी लगाउँदै

Wednesday, January 17th, 2018 |

३ माघ, काठमाडौं । वाम गठबन्धनले राष्ट्रियसभाका ५६ सिट बाँडफाँडको टुंगो आज लगाउने भएको छ । नेकपा एमालेले ७० र माओवादी केन्द्रले ३० प्रतिशत सिटमा उम्मेदवारी दिनेगरी वाम गठबन्धनको कार्यदल बैठकमा सहमति जुट्ने सम्भावना छ ।

सिट बाँडफाँडलाई अन्तिम रुप दिन वामपन्थी गठबन्धनको संयुक्त कार्यदल बैठक बस्दैछ । अघिल्लो बैठकमा दुई दलले प्राप्त गरेको मतका आधारमा ७० र ४० प्रतिशतको भागवण्डा गर्नेगरी भएको सैद्धान्तिक सहमतिलाई आजको बैठकले औपचारिकता दिने कार्यदल सदस्यहरुले बताएका छन् ।

स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभाका सांसदहरुको संख्याको आँकडा हेर्दा एमाले ७० प्रतिशत र माओवादी ३० प्रतिशत देखिएपछि सोही अनुसार बाँडफाँड गर्न लागिएको स्रोतले जनाएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा अपरान्ह कार्यदलको बैठक बस्नेछ ।

राष्ट्रियसभाका ५६ सिटमध्ये बढिमा ४१ सिट जित्ने वाम गठबन्धनको दावी छ । उम्मेदवारी भने सबै पदमा दिने गठबन्धनको तयारी छ । प्रदेश नम्बर २ बाहेक बाँकी ६ प्रदेशमा बामपन्थी गठबन्धनको बहुमत छ ।

आजको बैठकमा दुई दलबीच कुन प्रदेशमा कुन क्लस्टरको सिट लिने भन्ने विषयमा समेत छलफल हुने बताईएको छ ।
पार्टीका नेताहरुको व्यवस्थापन समेत हुनेगरी बहुमतीयबाट जित्ने दलित र अल्पसंख्यक र अपांग कोटा दुवै दलले मिलाएर बाँडफाँड गर्नेछन् । त्यस्तै एकल संक्रमणीयबाट जित्ने ३ महिला र ३ खुला सदस्यमा प्राथमिकता क्रमका आधारमा बाँडफाँड हुनेछ ।

कार्यदलले आज सिटसंख्या टुंगो लगाएपछि पार्टी एकता संयोजन समितिमा त्यसलाई औपचारिक निर्णयका लागि पेश गरिनेछ । राष्ट्रियसभाको बाँडफाँड टुंगिएपछि प्रदेशका मुख्मन्त्री, मन्त्री र सभामुख तथा उपसभामुखको बाँडफाँडमा छलफल सुरु हुने बताईएको छ ।

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् । माओवादीबाट रामबहादुर थापा ‘बादल’, वर्षमान पुन ‘अनन्त’र मात्रिका यादव छन् ।

VIEWS: 206