सर्वोच्चद्धारा दिपक मनाङ्गेलाई ५ वर्षको जेल सजाय, सांसद पद निलम्वित
गणेश लामालाई सफाई
२ माघ, काठमाडौं । सर्वोच्च अदालतले प्रदेशसभामा विजयी सांसाद दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने फैसला सुनाएको छ । सर्वोच्चले तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको हो । मंगलबार न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको छ ।
डन दीपक मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका थिए । एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका हुन् । तर, सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएपछि उनको पद समेत स्वतः निलम्वनमा परेको छ ।
कांंग्रेस नेता समेत रहेका डन गणेश लामासहित चार जनाले भने मुद्धाबाट सफाइ पाएका छन् ।
दीपक मनाङ्गेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे उर्फ मिलन गुरुङलाई तरबार प्रहार गरेको थियो । प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्यो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।
त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्ग्ेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्यो ।