कृषकको करिब १३ सय व्यवसायिक प्रस्ताव रद्ध गर्ने हिमाली आयोजनाको तयारी
लक्ष्मण थामी
१ माघ, दोलखा । उच्च पहाड कृषि व्यवसाय तथा जिविकोपार्जन सुधार आयोजना (हिमाली प्रोजेक्ट) मा सयौँ कृषकहरुको व्यवसायिक प्रस्तावहरु अलपत्र परेको छ । बजेट अभाव लगाएतका कारण जनाउँदै आयोजनाले ती व्यवसायिक प्रस्तावहरु मुल्याङ्कन नगरी थन्क्याएको हो । किसानहरुले व्यवसायिक प्रस्ताव पेश गरेको ३ बर्षपछि आयोजना प्रस्तावहरु मुल्याङ्कन नै नगरी रद्ध गर्ने निष्कर्षमा पुगेको छ ।
आयोजनाकी सूचना अधिकारी सन्ध्या न्यौपानेले मुल्याङ्कन हुन बाँकी रहेका प्रस्तावहरुको सम्वोधन गर्ने सम्भावना करिव सकिएको बताईन् । उनका अनुसार ती प्रस्तावहरु रद्ध गर्ने औपचारिक निर्णय हुन मात्रै बाँकी छ । “पछिल्लो चरणमा परेका व्यवसायिक प्रस्तावहरु करिव रद्ध भएजत्तिकै हो, न्यौपानेले भनिन्, त्यसको मुल्याङ्कन हुने सम्भावना अब छैन ।”
अपेक्षा भन्दा धेरै प्रस्तावहरु परेको, त्यसको अनुपातमा बजेट नभएको, थप अनुदानका लागि दातृ निकाय (एडिबी) र सरकार तयार नभएका कारण प्रस्तावहरु मुल्याङ्कन गर्न नसक्ने अवस्था आएको आयोजना अधिकारीहरुको दावी छ । आयोजनामा जम्मा २ हजार ४ सय ४१ व्यवसाय प्रस्ताव पेश भएकोमा १ हजार १ सय ४६ वटा प्रस्तावहरु मात्रै मुल्याङ्कन गरिएको छ । बाँकी १ हजार २ सय ९५ वटा प्रस्तावहरु मुल्याङ्कन हुन नसकेको हो ।
आयोजनाले व्यवसाय प्रस्ताव पेश गर्ने बारे २०७१ मघ १२ मा ३५ दिने सूचना जारी गरेपछि पेश भएको कुनैपनि प्रस्तावहरु उपर मुल्याङ्कन गरेको छैन । जसमा सबैभन्दा बढि दोलखाका १ सय ६७ वटा रहेका छन् । दोलखाका २ सय ३० वटा प्रस्तावहरु भने मुल्याङ्कन भईसकेका छन् ।
यसैगरी संखुवासभाको ८२, सोलुखुम्वुको १ सय २४, रसुवाको १ सय ८३, मनाङको ४८, मुस्ताङको ३४, डोल्पाको १ सय १२, जम्लाको १ सय १४, मुगुको २ सय ८, हुम्लाको २ सय ४ र आयोजनाको कार्यक्षेत्र बाहिरबाट परेका १९ वटा प्रस्तावहरु मुल्याङ्कन भएको छैन ।
आयोजनाका सुचना अधिकारी न्यौपानेले व्यवसायिक प्रस्तावहरु मुल्याङ्कन हुन नसक्नुको कारणबारे आयोजनाले आफनो औपचारिक धारणा सार्बजानिक गर्ने जानकारी पनि दिईन् ।
उच्च पहाडी दश जिल्लामा व्यवसायिक कृषिको माध्यमबाट कृषकको जिविकोपार्जनमा सुधार ल्याउने उदेश्य सहित हिमाली आयोजना संचालनमा आएको थियो । आयोजनाको अवधी गत २०१७ को डिसेम्वरमा सकिईसकेको छ ।