प्रधानन्यायधिसको बचाउ गर्दै बारले भन्यो ः स्वतन्त्र न्यायपालिकालाई दवावमा राख्न खोजियो,
२८ पुस, काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले प्रधानन्यायधिस गोपाल पराजुलीको बचाउ गर्दै बक्तव्य जारी गरेको छ । बारले अनसन बसेर न्यायालयमाथि दबाव नदिन डा. गोविन्द केसीलाई आग्रह समेत गरेको छ ।
डा. केसीको अनसन, अदालतको अवहेलना मुद्दा र सर्वोच्चको आदेशबारे बारे आफ्नो औपचारिक धारणा सार्वजानिक गरेको हो । अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टिकाटिप्पणी गर्न पाइने भएपनि व्यक्तिगत लान्छना लगाउनु तथा अशिष्ट भाषा प्रयोग गर्नु गलत भएको बारको भनाई छ । बारले जारी गरेको बक्तव्यमा भनिएको छ, आफू अनुकुल आदेश नआउँदा प्रधानन्यायाधीशको राजीनामा माग्दै जाने हो भने प्रक्रिया र पद्दतीको विकास हुँदैन ।
आफ्नो अनुकुलतामा फैसला आदेश नभए प्रधानन्यायाधीशको राजीनामा माग गर्ने, माग पूरा नहुन्जेलसम्म आमरण अनसन जारी राख्ने जस्ता विषयबस्तुले प्रश्रय पाउने हो भने र त्यसलाई अन्य पक्षले समर्थन गर्दै अगाडि बढ्ने हो भने कुन विषयबस्तु कुन ठाउँमा उठाउने, कसले उठाउने र उपचार पाउने माध्यम के हो भन्ने विषयमा जटिलता मात्र देखिने नभई गलत प्रक्रिया र पद्दतीको विकास हुनेतर्फ ध्यानाकर्षण गराइन्छ, विज्ञप्तीमा उल्लेख छ ।
बारले कुनै मुद्धामा न्यायाधीशविरुद्ध उजुरी गर्नु परे न्याय परिषद् जानुपर्ने कानुनी व्यवस्था पनि स्मरण गराएको छ ।