देउवा सरकारबाट माओवादी मन्त्रीहरु बाहिरिए,

६८ दिनको तलब सुविधा नलिने घोषणा

Friday, January 12th, 2018 |

२८ पुष । काठमाण्डौँ । माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरुले शुक्रबार राजिनामा दिँदै सरकारबाट बाहिरिएका छन् । मन्त्रिपरिषदको बैठक पछि माओवादी मन्त्रीहरुले सामुहिक राजीनामा दिएका हुन् ।

पूर्व स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले पार्टीको पत्रसहित सबै मन्त्रीहरुको राजिनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए ।
एमाले र माओवादी केन्द्र मिलेर वाम गठबन्धनको घोषणा गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भाग लिएपनि माओवादी मन्त्रीहरुले सरकार छाडेका थिएनन् ।

त्यसपछि सरकारमा माओवादीका तर्फबाट सामेल भएका सबै मन्त्रीहरुको पद खोस्दै प्रधानमन्त्री देउवाले उनीहरुलाई बिना विभागीय मन्त्री बनाएका थिए।

आसन्न निर्वाचनबाट सरकार पछि हट्नसक्ने भन्दै बिना विभागीय बनाइएपनि माओवादीका मन्त्रीहरुले राजिनामा गरेका थिएनन्। बिना विभागीय मन्त्री बनाइएको ६८ दिन पछि उनीहरुले आफ्नो राजिनामा प्रधानमन्त्रीलाई बुझाएका हुन्। राजीनामा पत्रमा माओवादी मन्त्रीहरुले विना विभागिय भुमिकामा रहँदा ६८ दिनको तलव सुविधा नलिने घोषणा समेत गरेका छन् ।

VIEWS: 249