साझावोली फलोअप ः सामुदायिक वनमा अनियमित ढंगले १३ वटा रुख कटान गरिएको पुष्टि

Friday, December 15th, 2017 |

२० मंसिर । दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका ६ स्थित झरेनी सामुदायिक वनका पदाधिकारीहरुले किर्ते हस्ताक्षर देखि नियम विपरित काठ कटान अनुमति दिएको पाईएको छ । उपभोक्ता समुहका अध्यक्ष लगाएतका पदाधिकारीहरुले प्रक्रिया नपु¥याई निर्णय गर्नुका साथै ठुलो परिमाणको काठ अवैध ढंगले कटानका लागि अनुमति दिएका हुन् । काठ अभावकै कारण धेरै भुकम्पपिडित उपभोक्ताले अझै आवास पुर्ननिर्माण गर्न पाएका छैनन् ।

तर उपभोक्ता समुहका पदाधिकारीको अनुमतिमा घ्याङडाँडा भन्ने क्षेत्रमा सयाँै क्युफिट काठ नियम विपरित कटान भएको फेला परेको छ । साझाबोली लगाएतका संचारमाध्यममा समाचार सार्वजानिक भएपछि जिल्ला वन कार्यालयबाट खटि गएको टोलीले उक्त क्षेत्रमा अनियमित ढंगले ठिङ्ग्रे सल्ल्ला जातको १३ वटा रुख कटान भएको पुष्टि गरेको छ । जिल्ला वन कार्यालय दोलखाका प्रमुख गोविन्द दाहालले खटि गएको टोलीले १३ वटा रुख कटान भएको प्रतिवेदन बुझाएको जानकारी दिए ।

ईलाका रेन्जपोष्ट सिंगटीका अनुसार कटान भएका रुखहरु मध्ये आधा दर्जन कुरी क्षेत्रका एक व्यवसायीले कटान गरेको देखिएको छ भने वाँकी रुखहरु कसले कटान गरेको हो भन्नेबारे खुल्न सकेको छैन । व्यवसायी पासाङ शेर्पाले सामुदायिक वन समुह आफुलाई २ सय क्युफिट काठ कटानको अनुमति दिएको तर अन्य काठ कटानबारे जानकारी नभएको बताए । अन्य काठहरु उपभोक्ता समुहका पदाधिकारीले निर्णय नगराई विक्रिवितरण गरेको हुनसक्ने उपभोक्ताको आशंका छ ।

जिल्ला वन कार्यालय दोलखाले स्थलगत अध्ययन प्रतिवेदन आईसकेको र त्यसकै आधारमा थप छानविन र कारवाही प्रक्रिया अघि बढ्ने जनाएको छ । सामुदायिक वनका उपभोक्ताहरुले प्रतिबन्धित काँचो रुख समेत अबैध रुपमा कटान गरिएको, भुकम्पपिडित उपभोक्तालाई काठ उपलव्ध नगराई विक्रि वितरण गरिएको, नक्कली हस्ताक्षर गरी भएको निर्णयहरु बारे गम्भिर छानविन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिरहेका छन् ।

किर्ते हस्ताक्षर गरी निर्णय
झरेनी सामुदायिक वन उपभोक्ता समुहको निर्णय पुस्तिकामा एक सय क्युफिट काठ कटान आदेश दिने उल्लेख छ । त्यो निर्णयपनि उपभोक्ता समितिका ३ जना सदस्यहरुको किर्ते हस्ताक्षर गरी, समितिको कोरम नपु¥याई भएको देखिएको छ । १५ जनाको उपभोक्ता समुह रहेकोमा कोरम पुग्न कम्तीमा ८ जनाको हस्ताक्षर आवश्यक पर्छ । तर निर्णय पुस्तिकामा ७ जनाको मात्रै हस्ताक्षर छ ।

उपभोक्ता समुहकी सदस्य वालकुमारी थामीले आफ्नो किर्ते हस्ताक्षर गरी समुहका पदाधिकारीहरुले फसाउन खोजेको भन्दै छानविन गरी दोषी उपर कारवाही हुनुपर्ने माग गरिन् । पदाधिकारीहरुमा पनि स्वार्थ मनोमानी ढंगले स्वार्थ समुहका व्यक्तिहरुलाई नियुक्त गरी आलोचकहरुलाई हटाउने गरिएको अर्का उपभोक्ता दिल बहादुर थामीले बताए । उपभोक्ता समितिकै केही पदाधिकारीले भने गल्ती स्वीकार गर्दै स्थानीय स्तरमै समस्याको समाधान गर्नुपर्ने बताउन थालेका छन् । नाम नखुलाउने शर्तमा समुहका एक पदाधिकारीले भने, “कमजोरी भएको छ, तर म त्यसमा प्रत्यक्ष संलग्न छैन ।”

पहिले कटान गरिएको काठ पनि गायव हुँदै
केही महिना अघि निकासिका लागि कटान गरिएका काठ स्थानीय स्तरमा व्यापक विरोध र जिल्ला वन कार्यालयमा उजुरी पछि रोकिएको थियो । कटान गरिएका काठ मध्ये टुटुवानको चउरमा निकासिका लागि तयारी अवस्थामा राखिएका ठिङ्ग्रे सल्ल्ला जातको दर्जनौँ गिन्डा काठ हराएका हुन् । निकासि र विक्रिवितरणमा प्रतिबन्ध लगाएपछि जिल्ला वन कार्यालयले उक्त काठ उपभोक्तालाई वितरण गर्न निर्देशन दिएको थियो ।

तर उपभोक्तालाई वितरण नगरी काठ त्यत्तिकै अलपत्र अवस्थामा छाडेर ठुलो परिमाणको काठ गायव बनाईएको हो । ईलाका रेन्जपोष्ट सिंगटीले संकलन गरेको लगत अनुसार करिव एक सयको हाराहारीमा ठिङ्ग्रे सल्लाको गिन्डा उक्त क्षेत्रमा भेटिएको थियो । त्यतिबेला ९४ थान गिन्डा अर्थात ३ सय २० क्युफिट काठको लगत संकलन गरिएकोमा करिव आधा जति काठ गायव भएको छ भने अन्य काठहरु त्यत्तिकै अलपत्र अवस्थामा छन् । स्रोतका अनुसार उपभोक्ता समुहले उक्त काठ उपभोक्ताको नाम मिलाएर स–मिल व्यवसायीलाई विक्रि गर्ने तयारी गरेको थियो ।

उपभोक्ता समुह अपारदर्शी
आर्थिक कारोवारमा पनि सो उपभोक्ता समुह अपारदर्शी देखिएको छ । आर्थिक कारोवारको पारदर्शीता माथि प्रश्न उठाउँदै आय व्याय सार्वजानिक गर्न माग गर्दा पनि आनाकानी गर्ने गरेको स्थानीय शिक्षक समेत रहेका उपभोक्ता समितिका सदस्य बल बहादुर थामीले गुनासो गरे । गत वर्षको साधरण सभामा पनि पेश गरिएको आर्थिक आय व्याय विवरण पनि विवादित भएपछि उपभोक्ताहरुबाट अनुमोदन नगराई चोर बाटोबाट कागजात मिलाईएको उपभोक्ता समितिका सदस्यहरु नै बताउँछन् । त्यसपछिका हिसाव किताव पनि सार्वजानिक गर्न आलटाल गर्नुमा आर्थिक अनियमितता भएको हुनसक्ने उनीहरुको आशंका छ ।

VIEWS: 370