संसदीय समितिलाई परराष्ट्रमन्त्रीको चुनौतीः कि प्रमाण लेऊ, नभए जथाभावी निर्णय नगर
२१ चैत, काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संसदको श्रम तथा अन्तराष्ट्रिय सम्वन्ध समितिलाई आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । आरोप पुष्टि भए राजीनामा दिने भन्दै उनलेजथाभावी निर्णय नगर्न चेतावनी समेत दिए ।
श्रम तथा अन्तराष्ट्रिय सम्वन्ध समितिले आइतबार खाडी मुलुकमा घरेलु कामदारका रुपमा नेपाली महिलाको तस्करीमा मन्त्रालयको समेत भूमिका देखिएको भन्दै परराष्ट्रमन्त्रीमाथि छानविन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा परराष्ट्रमन्त्री महतले समितिले आफूमाथि कारबाही गर्ने निर्णय गरेको खबरले आश्चर्यमा परेको बताए । ‘यो स्वार्थसहित आएको निर्णय हो । मलाई आश्चर्य लागेको छ, उनले भनेका छन् ।
आफूले राम्रो काम गरिरहेको दाबी गर्दै कांग्रेस नेता समेत रहेका महतले भने, यो सबै गैरकानूनी काम हो, यसलाई रोक्नुपर्छ भनेर मैले निर्देर्शन दिएको छु, तर यहाँ प्रोत्साहन हुनुको सट्टा उल्टै झुटा आरोप लगाउने काम भएको छ, यो छानविनको विषय हो । ‘
किन यस्तो निर्णय गर्यो भयो भनेर समितिका सभापति प्रभु साह लगायतका सांसदलाई आफूले सोधेको भन्दै उनले सभापति साह कसैको ईशारामा चलेको आरोप लगाए ।
२०७२ सालमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा जारी भएको निर्देशिका कार्यान्वयन गराउन आफूले पहल गरेको उनले बताए । उनले भने, ‘म हचुवाको भरमा के कारणले समितिले यस्तो निर्णय गर्यो भनेर टिप्प्णी गर्दिन्, तर यो खोजीको विषय हो ।’