दोलखामा बाम गठबन्धनको (क्लिन स्वीप), तीनै जना उम्मेदवारहरु अत्याधिक मतका साथ विजयी
२२ मंसिर, दोलखा । दोलखामा प्रतिनिधि सभा र प्रदेशसभाको तीन बटै सिटमा बाम गठबन्धनका उम्मेदवारहरु अत्याधिक मतका साथ विजयी भएका छन् । प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङ ५५ हजार ९ सय ९४ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका रुद्र बहादुर खड्काले २५ हजार ८ सय १ मत पाएका छन् । गुरुङले खड्काको भन्दा ३० हजार १ सय ९३ बढि मत ल्याएर विजयी भएका हुन् ।
यसैगरी दोलखा प्रदेशसभा क्षेत्र नम्वर १ मा बाम गठबन्धनका उम्मेदवार विशाल खड्का पनि अत्याधिक मतका साथ विजयी भएका छन् । उनले २८ हजार ३ सय ५० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका बर्मा लामाले १२ हजार ९ सय ५६ मत पाए । खड्काले १५ हजार ३ सय ९४ मत अन्तरका साथ विजय हाँसिल गरेका हुन् । खड्काले प्राप्त गरेको मत लामाको तुलनामा दोब्बर भन्दा पनि बढि हो ।
यस्तै प्रदेशसभा क्षेत्र नम्वर २ मा बाम गठबन्धनका उम्मेदवार पशुपति चौँलागाई विजयी भएका छन् । उनले २२ हजार २ सय ७८ मत ल्याएर जित हाँसिल गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका केशवराज चौलागाईले ९ हजार ८ सय ८२ मतमै चित्त बुझाए । प्रदेश सभा क्षेत्र नम्वर २ मा एमाले प्ररित्याग गरि मालेबाट उम्मेदवार बनेका लालकुमार केसिले ३ हजार १ सय ८९ मत प्राप्त गरी तेस्रो स्थान हाँसिल गर्न सफल भए ।
संघिय संरचना अन्तर्गत पहिलो पटक भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दोलखाको तीन वटै सिट बाम गठबन्धनको पोल्टामा गएको हो ।
पहिलो चरण अन्तर्गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दोलखामा कुल १ लाख ४७ हजार ९ सय २३ मतदाता रहेकोमा ८७ हजार ४ सय ९८ मत खसेको थियो । प्रतिनिधिसभा एक र प्रदेशसभा तर्फ दुई निर्वाचन क्षेत्र रहेको दोलखामा प्रतिनिधिसभा सदस्यका लागि १५ जना, प्रदेशसभातर्फ क्षेत्र नम्वर १ मा १२ र क्षेत्र नम्वर २ मा ११ जना उम्मेदवारहरु चुनावी मैदानमा थिए ।