दोलखामा बाम गठबन्धनका उम्मेदवारलाई दोब्बर, तेब्बर मतान्तरको अग्रता,

प्रदेशसभा क्षेत्र नम्वर २ मा मालेका केसि दोस्रो

Friday, December 8th, 2017 |

२१, मंसिर । दोलखा । दोलखामा पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारहरुले मतअन्तर फराकिलो बनाउँदै लगेका छन् । शुक्रबार विहान ३ बजेसम्मका मतपरिणाम अनुसार बाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार पार्वत गुरुङले ५६३० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रत्यासि कांग्रेसका रुद्र बहादुर खड्काले २२८७ मत प्राप्त गरेका छन् । गुरुङले खड्कालाई दोब्बर भन्दा बढि मतान्तरले पछाडी पारेका हुन् ।

यस्तै प्रदेशसभा क्षेत्र नम्वर १ तर्फ बाम गठबन्धनका विशाल खड्काले ४७३३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेसका बर्मा लामाले १५३९ मत ल्याएका छन् । खड्काले प्राप्त गरेको मत लामाको तुलनामा तेब्बर भन्दा बढि छ ।

यसैगरी प्रदेशसभा क्षेत्र नम्वर २ मा बाम गठबन्धनका पशुपति चौलागाईले ३११० मतका साथ अग्रता लिएका छन् भने काग्रेसका केशव चौलागाईको ११७३ मत छ । दोलखा प्रदेशसभा क्षेत्र नम्वर २ मा काग्रेस उम्मेदवार चौँलागाईलाई हालसम्म माले उम्मेदवार लालकुमार केसिले पछाडी पारेका छन् । चौलागाईले ११७३ मत ल्याउँदा केसिको मत १४४४ छ ।

प्रतिनिधि सभाको जिरी नगरपालिका १ स्यामा, प्रदेशसभा क्षेत्र नम्वर १ को जुँगु र २ को आलम्पुबाट मतगणना सुरु भएको हो । दोलखामा दोस्रो चरणको निर्वाचन सकिएपछि बिहिवार वेलुका साँढे सात बजेबाट मतगणना सुरु भएको थियो । दोलखा प्रदेशसभा क्षेत्र नम्वर २ बाहेक प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्र नम्वर १ को मतगणना भने कांग्रेसले बहिस्कार गरेको छ ।

समानुपातिक तर्फको मतगणना भने प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएपछि सुरु गर्ने तयारी छ । पहिलो चरणमा दोलखामा सम्पन्न निर्वाचनमा ५९ दशमलव १५ प्रतिशत मत खसेको छ । दोलखामा १ लाख ४७ हजार ९ सय २३ मतदाता रहेकोमा ८७ हजार ४ सय ९८ मतदाताले मात्रै मतदानमा भाग लिएका हुन् ।

प्रतिनिधिसभा एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको दोलखामा प्रतिनिधिसभा सदस्यका लागि १५ जना, प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा १२ र क्षेत्र नम्बर २ मा ११ जना उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा छन् ।

VIEWS: 1346