दोलखाको प्रतिनिधिसभा र दुबै प्रदेशसभा सदस्यमा बाम गठबन्धनको अग्रता
२१, मंसिर । दोलखा । दोलखामा पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनले अग्रता कायम गरेको छ । आज बेलुका साँढे सात बजेपछि जारी मतगणनाको प्रारम्भिक परिणाम अनुसार बाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार पार्वत गुरुङले ५५६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रत्यासि कांग्रेसका रुद्र बहादुर खड्काले १३५ मत प्राप्त गरेका छन् ।
यस्तै प्रदेशसभा क्षेत्र नम्वर १ तर्फ बाम गठबन्धनका विशाल खड्काले ५०१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी बर्मा लामाले ३० मत ल्याएका छन् । यसैगरी प्रदेशसभा क्षेत्र नम्वर २ मा बाम गठबन्धनका पशुपति चौलागाईले ५३२ मत पाएका छन् भने काग्रेसका केशव चौलागाईले १९५ मत प्राप्त गरेका छन् । यो मतपरिणाम प्रतिनिधि सभाको जिरी नगरपालिका १ स्यामा, प्रदेशसभा क्षेत्र नम्वर १ को जुँगु र २ को आलम्पुको हो ।
दोस्रो चरणको निर्वाचन सकिए लगत्तै साँझ ५ बजेपछि मतगणना सुरु गर्ने भनिएपनि साँढे २ घण्टापछि सुरु भएको थियो । निर्वाचनमा धाँधली भएको भन्दै कागं्रसले दर्ता गराएको उजुरी छानविनको अडान नछाडेपछि ढिलोगरी मतगणना सुरु भएको हो ।
दोलखा प्रदेशसभा क्षेत्र नम्वर २ बाहेक प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्र नम्वर १ को मतगणना भने कांग्रेसले बहिस्कार गरेको छ । २ नम्वर क्षेत्रको मतगणनामा कांग्रेसका प्रतिनिधिहरु सहभागि छन् । जिल्लाको गौरीशंकर गाउँपालिका अन्तर्गत सुरी र जुँगुका विभिन्न मतदान केन्द्रहरुमा बाम गठबन्धनले धाँधली गरेको भन्दै काग्रेसले छानविनको माग गरेको थियो ।
तर निर्वाचन आयोगले धाँधली भएको कुरा अस्वीकार गर्दै मतगणना कार्य सुरु गर्न निर्देशन दिएको थियो । भोलीदेखि भने प्रतिनिधिसभाको पनि एकै ठाउँमा मतगणना गर्ने तयारी छ ।
हरेक वडा स्थित मतदानस्थलको मत गनिसकेपछि त्यसको परिणाम सार्वजनिक गरिनेछ । मतगणनास्थलको सुरक्षाको लागि नेट जाली लगाइएको छ । मतगणना गर्ने कर्मचारीहरु नेटभित्र रहने छन् भने राजनीतिक दल र उम्मेदवारका प्रतिनिधि, पत्रकार तथा पर्यवेक्षकहरुले मतगणनास्थलको नेट बाहिरबाट मात्र पर्यवेक्षण गर्न पाउने छन् ।
पहिलो चरणमा निर्वाचन सम्पन्न भएका दोलखा सहित ३२ जिल्लामा अहिले मतगणना कार्य भैरहेको छ । समानुपातिक तर्फको मतगणना भने प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएपछि सुरु गर्ने तयारी छ । पहिलो चरणमा दोलखामा सम्पन्न निर्वाचनमा ५९ दशमलव १५ प्रतिशत मत खसेको छ । दोलखामा १ लाख ४७ हजार ९ सय २३ मतदाता रहेकोमा ८७ हजार ४ सय ९८ मतदाताले मात्रै मतदानमा भाग लिएका हुन् ।
प्रतिनिधिसभा एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको दोलखामा प्रतिनिधिसभा सदस्यका लागि १५ जना, प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा १२ र क्षेत्र नम्बर २ मा ११ जना उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा छन् ।