दोलखामा मतगणना कार्य सुरु, प्रतिनिधिसभा र प्रदेशसभा १ को मतगणना कांग्रेसद्धारा बहिस्कार
२१, मंसिर । दोलखा । दोलखामा पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । दोस्रो चरणको निर्वाचन सकिए लगत्तै साँझ ५ बजेपछि मतगणना सुरु गर्ने भनिएपनि निर्वाचनमा धाँधली भएको भन्दै कागं्रेसले दर्ता गराएको उजुरी छानविनको अडान नछाडेपछि ढिलोगरी मतगणना सुरु भएको हो ।
मतगणना बेलुका साँढे सात बजेदेखि सुरु भएको हो । प्रतिनिधि सभाको जिरी नगरपालिका स्यामा, प्रदेशसभा क्षेत्र नम्वर १ को जुँगु र २ को आलम्पुबाट मतगणना सुरु गरिएको हो । दोलखा प्रदेशसभा क्षेत्र नम्वर २ बाहेक प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्र नम्वर १ को मतगणना कांग्रेसले बहिस्कार गरेको छ । २ नम्वर क्षेत्रको मतगणनामा भने कांग्रेसका प्रतिनिधिहरु सहभागि छन् । जिल्लाको गौरीशंकर गाउँपालिका अन्तर्गत सुरी र जुँगुका विभिन्न मतदान केन्द्रहरुमा बाम गठबन्धनले धाँधली गरेको भन्दै काग्रेसले छानविनको माग गरेको थियो ।
तर निर्वाचन आयोगले धाँधली भएको कुरा अस्वीकार गर्दै मतगणना कार्य सुरु गर्न निर्देशन दिएको थियो । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका दोलखा सहित ३२ जिल्लामा अहिले मतगणना कार्य भैरहेको छ ।