दोस्रो चरणमा ४५ जिल्लामा सम्पन्न निर्वाचनमा ६७ प्रतिशत मतदान

सबैभन्दा बढि गुल्मीमा ७१ प्रतिशत मत खस्यो

Thursday, December 7th, 2017 |

२१ मंसिर, काठमाण्डाँै । दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको बिहीबार सम्पन्न निर्वाचनमा ६७ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालय जमल कान्तिपथमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रारम्भिक तथ्यांकअनुसार ६७ प्रतिशत मतदान भएको जानकारी गराएका हुन् । उनका अनुसार यो प्रतिशत केही बढ्न सक्ने छ । बिहीबारको निर्वाचनमा सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा म‌ंसिर १० गते भएको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो ।

प्रमुख आयुक्त यादवले दोस्रो चरणको निर्वाचन व्यापक जनसहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । मतदान सम्पन्न भएपछि सुरक्षित तवरबाट जिल्ला सदरमुकाममा मतपेटिका स‌ंकलन गर्ने काम भइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा मंसिर १० गते भएको निर्वाचनको मतगणना सुरु भइसकेको छ भने दोस्रो चरणको पनि केही जिल्लामा आजै राति र भोलि बिहानसम्ममा मतगणना सुरु गर्ने तयारी छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २ सय ५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भएका छन् । बिहीबार बिहान ७ देखि बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था गरिएको थियो ।

पहाडी तथा तराई–मधेसका गरी ४५ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाता थिए ।

VIEWS: 139