दोलखामा मतगणना कार्य सुरु हुँदै, कांग्रेसको असन्तुष्टि

Thursday, December 7th, 2017 |

२१, मंसिर । दोलखा । दोलखामा पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज साँझबाट सुरु हुँदै छ ।
दोस्रो चरणको निर्वाचन सकिए लगत्तै साँझ ५ बजेपछि पहिलो चरणमा निर्वाचन सम्पन्न भएका दोलखा सहित ३२ जिल्लामा पनि मतगणना कार्य सुरु हुने छ ।

मतगणनाका लागि सदरमुकाम चरिकोट स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा बसेको सर्वदलिय बैठकले मतगणना आचारसंहिता अनुमोदन गरेको छ । दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार काफ्लेले आचारसंहिताको प्रावधानवारे जानकारी गराएपछि राजनितिक दल, उम्मेदवार र उनीहरुका प्रतिनिधिहरुले त्यसमा हस्ताक्षर गरेका हुन् ।

बैठकको निर्णय अनुसार प्रतिनिधि सभाको १ र प्रदेशसभाका २ वटा क्षेत्रको मतगणना एकैसाथ तीन स्थानबाट सुरु गरिनेछ । दोलखा जिल्ला अदालत परिसरमा रहेको भवन, स्टोर भवन र दुई नम्बर ईजलाश गरी तीन स्थानबाट एकसाथ मतगणनाको तयारी भएको मुख्य निर्वाचन अधिकृत काफ्लले जानकारी दिए । भोलीदेखि भने प्रतिनिधिसभाको पनि एकै ठाउँमा मतगणना गर्ने तयारी छ ।

हरेक वडा स्थित मतदानस्थलको मत गनिसकेपछि त्यसको परिणाम सार्वजनिक गर्ने पनि सहमति भएको छ । मतगणनास्थलको सुरक्षाको लागि नेट जाली लगाइएको छ । मतगणना गर्ने कर्मचारीहरु नेटभित्र रहने छन् भने राजनीतिक दल र उम्मेदवारका प्रतिनिधि, पत्रकार तथा पर्यवेक्षकहरुले मतगणनास्थलको नेट बाहिरबाट मात्र पर्यवेक्षण गर्न पाउने छन् ।

समानुपातिक तर्फको मतगणना भने प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएपछि सुरु गर्ने तयारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीन स्थानमा हुने मतगणनाका लागि ५२ जना कर्मचारी खटिँदैछन् ।

कांग्रेसको असन्तुष्टि
नेपाली कांग्रेसले भने वाम गठबन्धनले जुंगु र सुरीका विभिन्न मतदान केन्द्रमा धाँधली भएको बारे आफुले दिएको उजुरीको छानविन विना मतगणना कार्य अघि नबढाउन आग्रह गरेको छ । कांग्रेसले आफ्नो उजुरीको चित्तबुझ्दो सम्वोधन नभए मतगणनामा सहभागिता नजनाउने अडान राखेको छ । तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोग केन्द्रले उक्त उजुरीबारे ५ बजे अगाबै निर्णय दिने भन्दै मतगणना कार्य सुरु गर्ने जनाएको छ ।

गत बैशाख १० गते मतदान सकिएपछि जिल्लाका सबै मतदान केन्द्रहरुबाट मतपेटिकाहरु सदरमुकाम चरिकोट स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरिएको थियो । मतपेटिका सुरक्षाका लागि १० दिनसम्म सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधि खटिए ।

पहिलो चरणमा दोलखामा सम्पन्न निर्वाचनमा ५९ दशमलव १५ प्रतिशत मत खसेको छ । दोलखामा १ लाख ४७ हजार ९ सय २३ मतदाता रहेकोमा ८७ हजार ४ सय ९८ मतदाताले मात्रै मतदानमा भाग लिएका हुन् । प्रतिनिधिसभा एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको दोलखामा प्रतिनिधिसभा सदस्यका लागि १५ जना, प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा १२ र क्षेत्र नम्बर २ मा ११ जना उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा छन् ।

VIEWS: 1122