देशभर एक मेगावाटसम्म उर्जाको स्रोत अध्ययन कार्य अन्तिम चरणमा,
दोस्रो चरणमा ईन्जिनियरहरुको टोली खटिदै
१८ मंसिर । काठमाण्डौँ । सरकारले देशका सवै जिल्लाहरुमा नविकरणिय उर्जाका स्रोतहरुको विस्तृत अध्ययन कार्य अन्तिम चरणमा पुर्याएको छ । जसका लागि ईन्जिनियरहरुको टोली दोस्रो चरणमा छिट्टै खटाउने तयारी छ ।
राष्ट्रिय योजना आयोग र एनईए ईन्जिनियरिङ कम्पनी लिमिटेडबीचको सम्झौता अनुसार देशभर ५ सय किलोवाट देखि १ मेगावाट क्षमतासम्मका नवीकरणिय उर्जाका स्रोतहरुको अध्ययन हुने भएको हो । जस अन्तर्गत प्रारम्भिक चरणको अध्ययनको आधारमा जलविद्युत उत्पादन गर्न सकिने स्थानीय तहहरुको पहिचान समेत भैसकेको एनईए ईन्जिनियरिङ कम्पनीले जनाएको छ ।
अव दोस्रो चरणमा खटिने ईन्जिनियरहरुको टोलीले पहिचान गरिएका जलविद्युत आयोजनाहरु, सौर्य उर्जा जडान गर्न सकिने स्थानहरु, बायोमास प्रविधिको संभावना भएका क्षेत्रहरुको वारेमा जानकारी लिनेछ ।
यस्तै वायु उर्जाको सम्भाव्यता भएका स्थानहरुको थप जानकारी लिनुका साथै हाल भैरहेको अध्ययनको जानकारी समेत गराउने राष्टिय योजना आयोगका कार्यक्रम निर्देशक दीपक ढकालले जानकारी दिए । टोलीले जिल्ला स्थित स्थानीय तहका प्रतिनिधि र अन्य सरोकारवालाहरुसँग छलफल गर्ने जनाईएको छ ।