बाँदरमुढे घट्नाका पिडितहरुद्धारा प्रचण्डलाई भव्य स्वागत
पिडितहरुसँग तीन बुँदे सहमति
१७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अन्ततः बाँदरमुढे घटनाका पीडितहरुले भव्य स्वागत गरेका छन् ।
चितवन ३ का उम्मेदवार समेत रहेका प्रचण्डलाई आइतबार माडीमा आयोजित चुनावी सभाका बीच पिडितहरुले स्वागत गरेका हुन् । स्वागतसँगै बहुचर्चित बाँदरमुढे घटनाका पीडित र प्रचण्डबीच तीनबुँदे सहमति समेत भएको छ ।
जसमा प्रचण्डका तर्फबाट बाँदरमुढे घटनामा मृत्यु भएकाको आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगारी तथा स्वरोजगार, काम गर्न नसक्नेका लागि जीवनवृत्ति र बालबालिकाकालाई पठनपाठनको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।
घाइतेहरुकालाई अवस्था हेरी उपचार खर्च, काम गर्न सक्नेलाई रोजगारी र नसक्नेलाई जीवनवृत्ति दिने पनि सहमति पत्रमा उल्लेख छ । घटना भएदेखि अहिलेसम्मको उपचार खर्च, मृतक तथा घाइतेको परिवारमा परेको आर्थिक क्षति र बालबालिकाको पठनपाठन खर्च परिपुरण गर्न पीडितका तर्फबाट ३ जना, माओवादी केन्द्रबाट ३ जना माडी नगरपालिकाबाट एक जना मध्यस्थकर्ता रहेको छानविन समिति बनाउने सहमति पनि भएको छ ।
यस्तै बाँदरमुढेमा १० विगाह क्षेत्रफलमा स्मारक, नमूना संग्राहलय तथा चिडियाघर निर्माण गर्ने र माडीकै प्रमुख पर्यटकीय स्थल बनाउने सहमति पनि प्रचण्ड र पीडितहरुबीच भएको छ । सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, विकास लामिछाने र हरि न्यूरेको हस्ताक्षर छ ।
यो सहमतिसँगै माडीमा निर्वातनका लागि प्रचण्डको पक्षमा थप सकारात्मक माहोल सिर्जना भएको माओवादी नेताहरुले बताएका छन् ।