सामुदायिक वनमा विकृति बढ्दै

Wednesday, November 22nd, 2017 |

६ कात्तिक । दोलखा । दोलखाका केही सामुदायिक वन उपभोक्ता समुहमा नियम विपरितका कार्य बढेको उपभोक्ताहरुले गुनासो गर्न थालेका छन् । ती सामुदायिक वन उपभोक्ता समुहभित्र वन पैदावारको अबैध विक्रिवितरण देखि आर्थिक पारदर्शीताबारे गम्भिर समस्या देखिन थालेका हुन् ।

उपभोक्ता समुहका केही पदाधिकारीहरुले काठ वितरण, वन पैदावार तथा गैरकाष्ठ वन पैदावारको उपयोगमा पक्षपातपुर्ण व्यवहार गर्नुका साथै चरिचरणमा समेत बन्देज लगाई आफुहरुलाई दुख दिन थालेको उपभोक्ताहरुको गुनासो छ । कालिञ्चोक गाउँपालिका–६ स्थित एक सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीले त्यस्तो कार्य गरेको भन्दै उपभोक्ताहरुले जिल्ला वन कार्यालय दोलखामा उनीहरु विरुद्ध सामुहिक रुपमा मुद्धा दर्ता गराएका छन् ।

उपभोक्ता समुहका सदस्य सहित दर्जनौँ उपभोक्ताहरुको हस्ताक्षर रहेको उक्त उजुरीमा केही समयअघि अबैध रुपमा काठ विक्रि वितरण गरिएको बारे छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरिएको छ । उजुरीसँगै उपभोक्ताहरुले किर्ते हस्ताक्षर गरी गरिएको अबैध निर्णयको प्रतिलिपीको प्रमाण समेत पेश गरेका छन् ।

उजुरीमा पदाधिकारीहरुले समुहका सदस्यहरुको (किर्ते) नक्कली हस्ताक्षर गरी कोरम नपु¥याई काठ विक्रि गर्ने निर्णय गरेको उल्लेख छ ।
उक्त सामुदायिक वन उपभोक्ता समुह १५ सदस्यीय छ । तर ३ जना सदस्यहरुको नक्कली हस्ताक्षर गरी कोरम पु¥याई अबैध ढंगले निर्णय गरिएकाले सत्यतथ्य छानविन गरी कारवाही प्रक्रिया अघि बढाउन उनीहरुले उजुरीमा माग गरेका छन् ।

उक्त सामुदायिक वनले भुकम्प पिडित उपभोक्ताहरुलाई आवास पुर्ननिर्माणका लागि हाल प्रति उपभोक्ता वरावर २० क्युफिटका दरले काठ उपलब्ध गराएको देखिएको छ । तर आफुहरुलाई काठ अभाव भैरहेका बेला ठुलो परिमाणको काठ विक्रि गरिएको भन्दै उपभोक्ता आक्रोसित छन् ।
जिल्ला वन कार्यालय दोलखाका प्रमुख गोविन्द प्रसाद दाहालले प्राप्त भएको उजुरी उपर तत्काल आवश्यक छानविन प्रक्रिया अघि बढाईएको प्रतिक्रिया दिएका छन् । उपभोक्ता समितिका पदाधिकारीले भने गलत नियतवाट आफुहरुले कुनै गतिविधि नगरेको दावी गरेका छन् ।

स्थानीय समुदायले संरक्षण, व्यवस्थापन र उपयोग गर्नेगरी नेपालमा लागु भएको सामुदायिक वनको अवधारणा सफल र लोकप्रिय मानिन्छ । यद्यपी यसको पर्याप्त नियमन र निगरानी हुन नसक्दा पछिल्लो समय वन समुहका पदाधिकारीका एकलौटी निर्णयबाट असहज महसुस हुन थालेको उपभोक्ताहरुले गुनासो गर्ने गरेका छन् ।

VIEWS: 642