माले उम्मेदवारलाई भोट माग्दै कांग्रेस नेता–कार्यकर्ता !
२९ कात्तिक । दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका ५ लापिलाङमा यही कात्तिक २७ गते एमाले र माओवादी केन्द्र (वाम गठबन्धन) को चुनावी सभा थियो । चुनावी सभा सकिएपछि नेता तथा उम्मेदवारहरु आ–आफ्नो वाटो लाग्ने तरखरमा थिए ।
त्यही बेला कांग्रेस उम्मेदवारको व्यानर र झण्डा सहितको एउटा सुमो त्यहाँ आईपुग्यो । उक्त सुमो भित्र रहेका कांग्रेस कार्यकर्ताहरुले आफ्नो पार्टी र उम्मेदवारको पक्षमा चर्को नारावाजी गरिरहेका पनि देखिन्थे । वाम गठबन्धनको कार्यक्रम स्थलबाट केही पर पुगेपछि सुमो रोकेर पर्चा बाँड्न थालियो ।
वाम गठबन्धनको कार्यक्रममा आएका मतदातालाई बाँडिएको उक्त पर्चा भने कांग्रेसको नभएर मालेबाट दोलखा प्रदेशसभा २ तर्फका उम्मेदवार लालकुमार केसिलाई जिताउन अपिल गरिएको पर्चा थियो ! गाडी भित्र पर्चाको ठुलै विटो देखिन्थ्यो, कांग्रेस उम्मेदवारको प्रचारमा प्रयोग गरिएको गाडी र कांग्रेसका स्थानीय नेता कार्यकर्ताले माले उम्मेदवारको पर्चा बाँडेको देख्दा वाम गठबन्धनका कार्यकर्ता र मतदाता केही आश्चर्यमा पनि परे ।
उनीहरुले जहाँ वाम गठबन्धनको कार्यक्रम र मतदाताको जमघट हुन्छ, त्यहाँ माले उम्मेदवारको पर्चा बाँड्ने गर्छन् । जसबाट वाम गठबन्धनका उम्मेदवारको मत काट्नु र आफ्ना उम्मेदवारको जित अनुकुल बनाउनु उनीहरुको उदेश्य हो । केसिले एमालेबाट विद्रोह गरी मालेबाट उम्मेदवारी दिएपछि कांग्रेस नेता कार्यकर्ताहरुले यस्तो प्रचारशैली अपनाएका हुन् ।