दोलखामा कांग्रेसलाई एक्ल्याउँदै दुई तिहाई ल्याउने वाम गठबन्धनको यस्तो छ, रणनिति !

Friday, November 10th, 2017 |

• लक्ष्मण थामी


२४ कात्तिक । दोलखा । वाम गठबन्धनले आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दोलखाका सबै सरोकारवाला पक्षलाई गोलबन्द गर्दै ८० प्रतिशत भन्दा बढि भोट खसाल्ने रणनिति बनाएको छ ।

उसले कांग्रेस वाहेकका सबै शक्तिहरुलाई आफ्नो पक्षमा तान्दै दुई तिहाई भन्दा बढि मत प्राप्त गर्ने रणनिति अख्तियार गरेको हो । त्यसका लागि उम्मेदवारी दर्ता गराएका साना दलहरुसँग पार्टी एकता गर्ने र ती पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुलाई साथमा लिई आफ्ना उम्मेदवारलाई समर्थन गर्न लगाउने बाम गठबन्धनको योजना छ । नयाँ शक्ति पार्टी, नेपाल र संघिय समाजवादी फोरम नेपाल गठबन्धनमा सामेल छ भने ती दलबाट प्रतिनिधिसभा र समानुपातिकतर्फ उम्मेदवारी दिएकाहरुले गठबन्धनका उम्मेदवारहरुलाई समर्थन जनाएको घोषणा गरिसकेका छन् ।

uml&mao leader-sajhaboli

कांग्रेस वाहेकका दल र उम्मेदवारसँग एकता
निर्वाचनको अन्तिमसम्म जिल्लाका अन्य साना दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुलाई पनि आफ्ना उम्मेदवारलाई समर्थन गर्न लगाउने संयुक्त वाम गठबन्धनले जनाएको छ । नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार पार्बत गुरुङले कांग्रेस बाहेकका साना दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुलाई गठबन्धनमा ल्याउने प्रयास जारी रहेको जानकारी दिए । चुनावको अन्तिम समयसम्म दोलखामा कांग्रेस एक्लै हुने र गठबन्धनको पक्षमा दुई तिहाई मत खस्ने गुरुङको दावी छ ।

dolkha-uml-sajhaboli

दोलखा वामपन्थीहरुको बर्चस्व रहेको जिल्लाका रुपमा चिनिन्छ । त्यसमा पनि मुख्य वामपन्थी पार्टीहरु एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेत भएपछि वाम गठबन्धन अत्याधिक मत ल्याउनुपर्ने दवावमा छ । त्यसका लागि दोस्रो विकल्पमा कांग्रेस सहित अन्य दलका पदाधिकारी सहित जिम्मेवार नेता कार्यकर्तालाई तान्ने कसरतमा गठबन्धनका उम्मेदवार तथा नेताहरु लागेका छन् । चुनावी अभियानका क्रममा राप्रपाका जिल्ला सचिव, काग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरुलाई गठबन्धनले प्रवेश गराईसकेको छ ।

पेशागत र भातृ संस्थाहरु चुनावमा 
वाम गठबन्धनले जिल्ला स्थित सबै पेशागत संघ संगठन र आफ्ना भातृ संस्थाहरुलाई चुनावको तयारीमा होमिईसकेको छ । दुवै पार्टीका युवा, विद्यार्थी संयुक्त भेलाले जिल्लाको ९४ वटै बुथहरुमा सुरक्षा कमाण्डरहरु खटाईसकेको छ । ती कमाण्डहरुको नेतृत्वमा एक बुथमा दुई सय युथ खटाउने उनीहरुको दावी छ ।

yuth&student program-sajhaboli

यसैगरी करिव १५ सय शिक्षक र ५ सय बुद्धिजिवी वाम गठबन्धनको चुनावी प्रचारमा सक्रिय छन् भने कर्मचारीहरुलाई त्यही अनुसार परिचालन गरिँदैछ । जिल्ला स्थित उद्योगी व्यवसायीहरुले पनि वाम गठबन्धनलाई विजयी गराउन सक्दो सहयोग गर्ने घोषणा गरिसकेका छन् । शुक्रवार दुबै पार्टीका कर्मचारी संगठनको संयुक्त भेलाले एउटै संगठन बनाउने र निर्वाचनमा गठबन्धनको पक्षमा उभिने निर्णय गरेको छ ।
प्रदेशसभा १ नम्वर क्षेत्रका उम्मेदवार विशाल खड्काले गठबन्धनलाई जिताउन सिंगो जिल्लालाई एकढिक्का बन्दै गएको बताए । जिल्लामा ८० प्रतिशत भन्दा बढि मत गठबन्धनको पक्षमा खस्ने निश्चित भएको खड्काको भनाई छ ।

मत विग्रेनसक्ने डर
एमाले र माओवादी केन्द्रले जिल्लादेखि स्थानीय स्तरसम्म संयुक्त निर्वाचन परिचालन समिति गठन अभियान अन्तिम चरणमा पुगेको जनाएको छ । जिल्लाको २ नगर र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह र ७४ वटै वडामा संयुक्त निर्वाचन परिचालन समिति खडा गरेको छ । उक्त संयुक्त निर्वाचन परिचालन समिति मातहत अन्य सहायक संगठनहरुको छुट्टै चुनाव परिचालन समिति बनेको छ ।

वम गठबन्धनका उम्मेदवारहरु फरक फरक निर्वाचन चिन्हमा लडेका कारण मत विग्रन सक्ने र विगतको तिक्तताका कारण एक दलको मतदाताले अर्को दलका उम्मेदवारलाई मत दिनेमा धेरै आशंका व्यक्त भैरहेका छन् । गठबन्धनका उम्मेदवार र नेताहरुले पनि उक्त समस्यालाई महसुस गरी मतदाताहरुलाई कन्मिन्स गर्नमा धेरै समय खर्चिरहेका छन् ।

चुनावी कार्यक्रमहरुमा उनीहरुले एउटै कम्युनिष्ट पार्टी बन्ने भएका कारण विगतको सवै तिक्तता विर्सिदिन जोडतोडका साथ आग्रह गर्ने गर्छन् । स्थानीय निर्वाचनका क्रममा जुँगुमा भएको घट्नापछि एमाले र माओवादी केन्द्रबीचको दरार उत्कर्षमा पुगेको थियो । तर उक्त घट्नाले पैदा गरेको समस्या पनि करिव साम्य भैसकेको नेताहरुको दावी छ ।

दोलखामा १ लाख ४७ हजार ९ सय २३ जना मतदाता रहेका छन् । कुल मतदाताको ८० प्रतिशत १ लाख १८ हजार ३ सय ३८ हुन्छ । जिल्लामा ७० प्रतिशत अर्थात १ लाख ३ हजार ५ सय ४६ मत खसेको अवस्थामा पनि वाम गठबन्धनले १० हजार मत बदर भयो भनेपनि ७२ हजार भन्दा वढि मत ल्याउनुपर्ने हुन्छ ।

VIEWS: 1507