किन अगाडि छ बाम गठबन्धन ?

Wednesday, November 8th, 2017 |

•चिरञ्जीवी मास्के


२२ कात्तिक । दोलखा । दोलखा जिल्लामा प्रतिनिधि सभाको एक र प्रदेश सभाको दुई निर्वाचन क्षेत्रमा बिभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३८ जनाले उम्मेदवारी दिएको भएपनि मुख्य प्रतिस्प्रर्धा बाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवार बीच हुने देखिन्छ । २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको स्थानिय तहको निर्वाचनको मत परिणामलाई हेर्दा नेपाली कांग्रेस भन्दा बाम गठबन्धन आधि भन्दा बढी मतले अगाडि देखिएको छ ।

२०७० सालको संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार पार्वत गुरुङले १६ हजार २ सय ८१, नेपाली कांग्रेसका जीपछिरीङ लामाले १२ हजार २ सय ९८ र माओवादी केन्द्रका विशाल खड्काले ९ हजार ७८ मत प्राप्त गरेका थिए । त्यसैगरी क्षेत्र नम्बर २ मा एमालेका आनन्दप्रसाद पोखरेलले १४ हजार ७ सय २, नेपाली कांग्रेसका ताराबहादुर कोईरालाले १० हजार ६ सय ६३ र माओवादी केन्द्रका शङ्कर लामाले ८ हजार ७ सय ४९ मत प्राप्त गरेका थिए ।

मत संख्यासंगै नेपाली कांग्रेसको तुलनामा बाम गठबन्धनको उम्मेदवार राजनीतिक रुपमा स्थापित र शक्तिशाली रहेकोले पनि बाम गठबन्धनको जीत सहज रहेको राजनीतिक विश्लेषकहरुको भनाई छ । बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा एमाले केन्द्रिय सदस्य पार्वत गुरुङले उम्मेदवारी दिएका छन् । गुरुङ पुर्व सांसद समेत हुन् ।

उनी २०७० सालको संविधानसभा निर्वाचनमा १६ हजार मतका साथ दोलखा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । गुरुङ नेकपा एमाले दोलखाको पूर्व अध्यक्ष समेत हुन् । उनले नेकपा एमाले दोलखाको जिल्ला कमिटी सदस्य, जिल्ला विकास समितिको क्षेत्रिय सदस्य लगाएतको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । गुरुङका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रुद्रबहहादुर खड्का पार्टीको वर्तमान अध्यक्ष हुन् । उनी २०४९ सालको स्थानिय निर्वाचनमा जिल्ला विकास समितिको सभापतिमा निर्वाचित भएका थिए । प्रतिनिधि सभाका यी दुई प्रतिद्वन्द्वी बीच केहि अन्तरङ्ग सम्बन्ध समेत रहेको यी दुईलाई नजिकबाट चिन्नेहरु भन्ने गर्छन् ।

पार्वत गुरुङ एमाले अध्यक्ष उठ्दा रुद्रबहादुर खड्काले सघाएको र खड्का कांग्रेस सभापतिमा उठ्दा गुरुङले सघाएको चर्चा दोलखामा अझै पनि चल्ने गरेको छ । दोलखामा एमाले पहिलो शक्ति रहेको र त्यसमा तेस्रो शक्ति माओवादी केन्द्र समेत मिलेकोले गुरुङलाई जितको लागि ठुलो समस्या नभएको विश्लेषकहरुको भनाई छ । उम्मेदवारको सक्रियता र राजनीतिक निरन्तरतालाई हेर्दा पनि गुरुङ नै अगाडि रहेको विश्लेषकहरु बताउछन् ।

प्रदेश सभातर्फ दोलखा क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका विशाल खड्काले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसको तर्फबाट बर्मा लामाले उम्मेदवारी दिएका छन् । बाम गठबन्धनका उम्मेदवार विशाल खड्का माओवादी केन्द्रको विद्यार्थी नेता, जिल्ला संयोजक, केन्द्रिय विदेश विभाग सदस्य हुदै अहिले जिल्ला इन्र्चाज छन् । उनी २०७० सालको संविधान सभा निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेर तेस्रो मतका साथ पराजित भएका थिए ।

खड्काको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामा स्थानिय तहको निर्वाचनमा दोलखाको मेलुङ गाँउपालिकामा प्रमुखको उम्मेदवार बनेर नेकपा एमालेसंग पराजित भएका थिए । उनी कांग्रेसको जिल्ला अध्यक्षमा समेत पराजित भएका थिए । विगतको पत मरिणमलाई हेर्दा माओवादी केन्द्रका उम्मेदवार विशाल खड्कालाई एमालेको आधा मतमात्र आएपनि जित्न सहज हुने देखिन्छ । तर एमालेका नेता कार्यकर्ता यो निर्वाचन बाम गठबन्धनको परिक्षणको निर्वाचन भएकोले एमालेको पक्षमा रहेको कम्तिमा ८० प्रतिशत मत माओवादी केन्द्रको पक्षमा जाने बताउछन् । कांग्रेस उम्मेदवार बर्मा लामा भने माओवादीको विगतको धुमिल चरित्र र यस अघि पराजित भएका विशाल खड्काको उम्मेदवारीको कारण पनि आफ्नो जित सुनिश्चित रहेको बताई रहेका छन् ।

प्रदेश सभातर्फ दोलखा क्षेत्र नम्बर २ मा बाम गठबन्धनको तर्फबाट एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाई उम्मेदवार छन् । उनी दोलखामा सबै पार्टीको लागि प्रिय राजनीतिज्ञ हुन् । २०५६ सालमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित चौलागाई २०७० सालको संविधान सभामा समानुपातिक सांसद थिए । एमाले दोलखा जिल्ला कमिटी सदस्य, सचिव हुदै एमाले पोलिटब्युरा सदस्य रहेका चौलागाई युवा संघ नेपालको पूर्व केन्द्रिय अध्यक्ष समेत हुन ।

उनको राजनीतिक हाईटकै कारण पनि उनलाई निर्वाचन जित्न खासै कठिन देखिदैन । उनको प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव चौलागाई जिल्ला तहका नेतामात्र हुन । उनी नेपाली कांग्रेसको पूर्व जिल्ला सचिव र महासमिति सदस्य हुन् । दोलखाको २ नम्बर क्षेत्र सधै एमालेको पकड रहेको क्षेत्र भएको र पशुपति चौलागाई ३ नम्बर प्रदेशको सम्भावित मुख्य मन्त्री समेत रहेकोले उनलाई जित्न सहज रहेको विश्लेषकहरुको भनाई छ ।

VIEWS: 457