दोलखामा सकियो नयाँशक्ति, नेता कार्यकर्ता सबै एमाले र माओवादी केन्द्रमा

Sunday, November 5th, 2017 |

१९ कात्तिक । दोलखा । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकपछि अर्को गर्दै कमजोर बन्दै गएको छ । पार्टी केन्द्रमा नेताहरु असन्तुष्टि जनाउँदै अन्य पार्टीमा प्रवेश गर्ने लहरसँगै जिल्ला स्तरमा उक्त पार्टीको अस्तित्वनै नामेट हुने अवस्था देखिएको छ ।

दोलखामा नयाँ शक्तिको नेतृत्व गरिरहेका नेताहरु आईतवार एमालेमा प्रबेश गरेका छन् । नयाँ शक्तिका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक रविन्द्र कार्की, बैकुण्ठ भण्डारी र केशव चौलागाई एमाले प्रबेश गरेका हुन् । सदरमुकाम चरिकोट स्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमाले जिल्ला अध्यक्ष पोखरेल सहितका नेताहरुले उनीहरुलाई स्वागत गरेका थिए ।

उनीहरु बाहेकका अधिकाँश नेता तथा कार्यकर्ताहरु भने यसअघि नै नेकपा माओवादी केन्द्रमा प्रबेश गरिसकेका थिए । पार्टी प्रवेशलाई एमाले जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल र नयाँ शक्तिका जिल्ला संयोजक कार्कीले संयुक्त विज्ञप्ती मार्फत पार्टी एकिकरण भएको घोषणा भनेका छन् ।

जारी विज्ञप्तीमा बाम एकतालाई बलियो पार्न नयाँ शक्तिका सम्पुर्ण कमिटिहरु र जनवर्गिय संगठनहरु एकिकरण भएको उल्लेख छ ।
यसैविच पार्टी एकिकरणसँगै नयाँ शक्तिवाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका भण्डारीले बाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङलाई समर्थन जनाउने भएका छन् । उनले आजै एक विज्ञप्ती मार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।

यसअघि नयाँ शक्तिका केन्द्रिय सचिवालय सदस्य मुक्ति प्रधान, केन्द्रिय सदस्य तथा दोलखाका नेता अर्जुन थपलिया लगाएतका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रबेश गरिसकेका छन् । त्यसअघि पुर्व सभाषद समेत रहेका नयाँ शक्तिका नेता हेमवहादुर श्रेष्ठ पनि माओवादी केन्द्रमा फर्किसकेका छन् ।

VIEWS: 163