निर्वाचनमा तटस्थ भएर समाचार सम्प्रेषण गर्न संचारकर्मीलाई आग्रह

Wednesday, November 1st, 2017 |

१५ कात्तिक, दोलखा । दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकास काफ्लेले निर्वाचनका क्रममा निष्पक्ष भुमिका निर्वाह गरिदिन आग्रह गर्नुभएको छ । निर्वाचनका क्रममा गलत समाचार सम्प्रेषण गर्दा हिंसा समेत भड्किन सक्ने भन्दै काफ्लेले सत्यतथ्य र तटस्थ समाचार सम्प्रेषण गरेर निर्बाचन सफलताका लागि सहयोग गर्न आग्रह गरे ।

जिल्ला निर्वाचन कार्यालय दोलखाको आयोजनामा सदरमुकाम चरिकोटमा बुधवार आयोजित निर्वाचन र संचार प्रशिक्षण कार्यममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । “संचार जगतले सत्यतथ्य सुचना समाचार सम्प्रेषण गरेर तटस्थ भुमिका निर्वाह गरे निर्वाचनलाई सहयोग हुन्छ, हामीले उपलव्धी प्राप्त गर्छाैँ, उहाँले भन्नुभयो ।”

नेपाल पत्रकार महासंघ दोलखाको अध्यक्ष जीवन लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले निर्वाचनका बेला देश संक्रमणको अवस्थामा रहने भएकाले समाचारमा सन्तुलन भन्दा पनि तथ्यको खोजी गर्नुपर्ने बताउनुभयो । गृहजिल्ला आईपुग्नुभएका अध्यक्ष बस्नेतले पेशागत मर्यादामा रहेर काम गर्न सबै पत्रकारहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा कार्यक्रममा सहायक निर्वाचन अधिकृत रमेश शिवाकोटी र जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख सच्युतराज उप्रेतीले पनि निर्वाचनको सम्वेदनशीलता आत्मासाथ गरी समाचार लेख्न आग्रह गर्नुभयो ।

आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम जिल्ला निर्वाचन कार्यालय दोलखाको आयोजना र पत्रकार महासंघ दोलखा शाखाको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला तालिम समन्वय कर्ता राजन न्यौपाने, स्रोत ब्यक्ति सुवास योन्जन र रविन्द्र गौतमले सहजिकरण गर्नुभएको थियो । तालिममा जिल्ला स्थित तीस जना संचारकर्मीहरुले सहभागिता जनाएका छन् ।

VIEWS: 223