वालकृष्ण ढुंगेल यसरी हाँस्दै गए कारागार

Tuesday, October 31st, 2017 |

१४ कात्तिक, काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय सुनाईएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ ।

ढुंगेललाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । साथी भेट्न भन्दै डेराबाबाट निस्किए लगतै उनलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
उनलाई मंगलबार नै जिल्ला अदालत उपस्थित गराएर सदरखोर चलान गरिएको छ । अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ ।

जेल चलान हुँदै गर्दा पूर्वसभासद ढुंंगेलले भने आफूलाई जनयुद्धकालीन मुद्दामा फसाउन खोजिएको भन्दै यसले शान्ति प्रक्रिया भंग हुने चेतावनी दिए ।

ओखलढुंगाका पूर्वसभासद समेत रहेका ढुंगेल माओवादीका प्रभावशाली नेता मानिन्छन् । उनकी पत्नी र परिवारका सदस्यहरु कपनमा बन्दै आएपनि ढुंगेल भने सातदोबाटोमा डेरा लिएर बस्दै आएका थिए ।
माओवादी नेताहरुले ढुंगेलको गिरफ्तारीलाई शान्ति प्रक्रियामाथिको हस्तक्षेप भनी प्रतिक्रिया दिएका छन् ।

ढुंगेल पहिलो संविधानसभाको निर्वाचनमा ओखलढुंगा २ बाट निर्वाचित भएका थिए । ढुंगेल सभासद रहेकै बेला सर्वोच्चले दोषी ठहर गरेपनि पक्राउ परेका थिएनन् । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् ।

ढुंगेलको सजाय माफीका लागि तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रपति समक्ष सिफारिस समेत गरेको थियो । तर, सर्वोच्चले सजाय माफी गर्न नमिल्ने अर्को फैसला गर्दै सर्वोच्चले ३१ चैत २०७३ मा सात दिनभित्र ढुंगेललाई पक्राउ गर्न आदेश समेत दिएको थियो । आदेश कार्यान्वयन नभएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले ४ कात्तिकमा प्रहरी प्रमुखविरुद्ध अदालतको अवहेलनाको मुद्दा दायर गरेका थिए ।

VIEWS: 382