कम्युनिष्ट मिल्दा मतदातामा खुसियाली
१५ कात्तिक। दोलखा। मुलुकमै पहिलो पटक हुन लागेको केन्द्रिय प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा मतदाताहरु विगतभन्दा आषावादी देखिन थालेका छन् । पटक पटक मतदान गर्दा केही ठुलो परिवर्तन हुन नसकेकोमा निराशा व्यक्त गर्ने मतदाताहरुले यो पटकको निर्वाचनबाट केही हुनसक्ने भन्दै उत्साह व्यक्त गर्न थालेका हुन् ।
दोलखाको उत्तरी क्षेत्रको व्यापारिक केन्द्र सिंगटीमा भेटिएका अधिकांस मतदाताहरुले दुई ठुला कम्युनिष्ट पार्टीहरुले बनाएको गठबन्धनबारे सन्तुष्टि प्रकट गरे । कालिञ्चोक गाउँपालिका–२ का अमृत बहादुर पाण्डे कम्युनिष्ट पार्टीहरु मिलेकोमा खुसि व्यक्त गर्दै भन्छन्, “दाजुभाई जस्तै कुम्युनिष्ट पार्टीहरु मिल्दा गौरब लागेको छ, अब पक्कै देशमा केही हुन्छ… ।”
राजनितिक अस्थिरता र नेता कार्यकर्ताबीचको आपसि लडाईका कारण आम सर्वसाधरण प्रायः दिक्क जस्तै देखिन्छन् । जसका कारण यसअघि मतदाता त्यति धेरै उत्साहित र आषावादी भएर मतदानमा भाग लिएको पाईदैन । पटक पटक भोट हालेपनि राजनितिक दलहरु मिलेर देशको विकास गर्न नसकेकोमा आम नागरिकको गुनासो छ । तर यो पटक दुई ठुला कम्युनिष्ट पार्टीहरु मिल्दा स्थायी सरकार बनेर देशले निकास पाउँछकी भन्दै आषा व्यक्त गर्छन्, विगु गाउँपालिका–२, का ढाल बहादुर तामाङ । कम्युनिष्ट पार्टीहरु पहिल्यै मिल्नुपथ्र्यो, ढिलै भएपनि मिलेका छन् उनले भने, देश विकासको लागि अब उनीहरुलाई जिताउनुपर्छ ।”
कतिपय मतदाताहरु भने मुख्य कम्युनिष्ट पार्टीहरु एमाले र माओवादी केन्द्रबीच भएको चुनावी तालमेल र पार्टी एकता प्रक्रिया निष्कर्षमा पुग्नेमा त्यति ढुक्क देखिँदैनन् । गौरीशंकर गाउँपालिकाका शेर बहादुर श्रेष्ठ दुई पार्टी लामो समयसम्मै मिलेर गएको भए देशले काँचुली फेर्ने बताउँछन् । तर श्रेष्ठ आशंका व्यक्त गर्दै भन्छन्, विगतको टुटफुट हेर्दा अहिलेपनि पछिसम्मै मिल्छन् की मिल्दैनन् यसै भन्न सकिने अवस्था छैन ।”
संसदिय व्यवस्थामा धेरै राजनितिक पार्टीहरु हुँदापनि राजनितिक स्थायित्व नभएको र मुलुक गरिबीको चक्रव्युहमा फसेको सर्बसाधरणले बुझ्न थालेका छन् । त्यसैले अब उनीहरुले विस्तारै एउटा शक्तिलाई बहुमत दिएर दिगो सरकार बनाउनुपर्ने मनोविज्ञान बनाउन थालेका छन् । श्रेष्ठ थप्दै भन्छन्, धेरै पार्टी भएर देश विग्रिएको हो, अहिले पार्टीहरु मिल्ने कुरा आएको छ, मिलेका शक्तिलाई जिताए मात्रै देशमा प्रगति हुन्छ भन्ने कुरामा हामी मतदातापनि सचेत हुनुपर्छ ।”