बाम गठबन्धनको कार्यालय उद्घाटन नै आमसभा जस्तो (फोटोफिचर)
१४ कात्तिक । दोलखा । बाम गठबन्धन दोलखाको दुईवटा संयुक्त चुनाव परिचालन कार्यालयहरु संचालनमा आएका छन् । प्रदेशसभा १ अन्तर्गत जिल्लाको बैत्यश्वर गाउँपालिका स्थित मैनापोखरी र प्रदेशसभा २ अन्तर्गत उत्तरी क्षेत्रको केन्द्र सिंगटी बजारमा स्थापना गरिएको कार्यलय उद्घाटन कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको छ ।
दुवै कार्यालय उद्घाटन कार्यक्रममा प्रतिनिधिमुलक रुपमा केही अगुवा कार्यकर्तालाई बोलाईएपनि सर्वसाधरण स्वतस्फुर्त रुपमा कार्यक्रममा सहभागि हुन आएका हुन् । बाम गठबन्धनको संयुक्त कार्यक्रम हुने थाहा पाएपछि कृषकहरु समेत मंसिरको व्यस्तताका बावजुत कार्यक्रममा सहभागि हुन आएको नेताहरुको दावी छ ।
“केही अगुवा कार्यकर्ताको उपस्थितिमा कार्यलय उद्घाटन गर्ने कार्यक्रम राखिएको हो, माओवादी केन्द्र दोलखाका संयोजक गोपाल पाण्डेले भने, तर जनतानै कार्यक्रममा आएपछि जनसभाजस्तो भयो ।” गठबन्धनका तीनै जना उम्मेदवार तथा नेताहरुले सोमवार सिंगटी र मंगलवार मैनापोखरीमा संयुक्त चुनावी कार्यालय उद्घाटन गर्ने कार्यक्रम राखिएको थियो ।
बाम गठबन्धन दोलखाको निर्वाचन परिचालन समितिका संयोजक ईश्वर चन्द्र पोखरेलले गठबन्धनको पक्षमा व्यापक जनलहर सिर्जना हँुदै गएको बताए । बाम गठबन्धनले चुनावी अभियानका क्रममा जिल्ला स्थित विभिन्न स्थानमा क्षेत्रिय स्तरमा जनसभा आयोजना गर्ने छुट्टै कार्यतालिका बनाईसकेको छ ।