दोलखामा बाम गठबन्धन चुनाबमा होमियो
दुबै पार्टीका नेताहरुले भने ः हामी एक भयौँ,
१२ कात्तिक । दोलखा । चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्र दोलखाको गठबन्धन आईतवारदेखि चुनावमा होमिएका छन् ।
पार्टीको छुट्टाछुट्टै बैठकपछि आईतवार सदरमुकाम चरिकोटमा दुई पार्टीले जिल्ला कमिटि स्तरिय संयुक्त भेलाको आयोजना गरी सम्पुर्ण शक्तिका साथ चुनावमा होमिएको घोषणा गरेका हुन् ।
दुई पार्टीका जिल्ला कमिटि स्तरिय सयौँ अगुवा नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेताहरुले आफ्ना साझा उम्मेदवारहरुलाई दुई तिहाई बहुमतका साथ विजयी गराउन निर्देशन दिए । संयुक्त भेलामा बोल्दै एमाले पोलिट व्युरो सदस्य पशुपति चौलागाई, पार्वत गुरुङ, आनन्द प्रसाद पोखरेल, बालकृष्ण शिवाकोटी, शिव प्रसाद भण्डारी लगाएतका नेताहरुले सुर्य र हसिँया हथौडा चिनाव चिन्ह दुबै पार्टीको साझा भैसकेको भन्दै सोही अनुसार मतदान गर्न आग्रह गरे । उनीहरुले दुई ओटा चुनाव चिन्हका कारण मत तलमाथी हुनसक्ने तर्फ सजग गराउँदै मतदातालाई उक्त कुरा स्पष्ट पार्नुपर्नेमा जोड दिए ।
यस्तै माओवादी केन्द्रका नेताहरु गंगा कार्की विश्व, देवी खड्का, विशाल खड्का, नर बहादुर पाख्रिन, गोपाल पाण्डे लगाएतका नेताहरुले पनि दुई पार्टी एक भएको भन्दै चुनाव चिन्हमा नअल्मलिन आग्रह गरे । मुलुकमा राजनितिक स्थायित्व र सम्मृद्धिका लागि बाम एकता भएको भन्दै दुवै पार्टीका नेताहरुले निर्वाचनमा अन्य राजनितिक दलले अनावश्यक बल प्रयोगको हर्कत गरे त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी समेत दिए ।
यस्तो छ, चुनावी कार्यक्रम
बाम गठबन्धन दोलखाले निर्वाचन परिचालन समिति, निर्देशक समिति, साझा घोषणा पत्र लेखन समिति लगाएतका विभागहरु निर्माण गरी स्थानीय स्तरसम्म पुग्ने चुनावी कार्यतालिका समेत तयार गरिसकेको छ । जस अनुसार तीन जना उम्मेदवारहरुको छुट्टाछ्टै टोली गाउँगाउँमा चुनावी कार्यक्रम लिएर जानेछ । चुनावी अभियान प्रदेशसभा क्षेत्र नम्वर १ को गौरीशंकर गाउँपालिका र क्षेत्र नम्वर ख को शैलुङ गाउँपालिकाबाट सुरु हुँदैछ ।
नगर, गाउँ र बडा तहसम्म दुबै दलको संयुक्त निर्वाचन परिचालन कमिटिहरु गठन सुरु भैसकेको छ । बाम गठबन्धनको निर्वाचन कार्यतालिका अनुसार मंसिर ६ गतेसम्म औपचारिक कार्यक्रमहरु जारी रहनेछ ।