आगामी निर्वाचनमा आफ्नो भुमिकाबारे बालकृष्ण शिवाकोटी र शिव प्रसाद भण्डारी यसो भन्छन्

Thursday, October 26th, 2017 |

आसन्न निर्वाचनमा नेकपा एमालेको तर्फबाट दोलखाको प्रदेशसभा क र ख का शसक्त दाबेदार थिए, शिव प्रसाद भण्डारी र बालकृष्ण शिवाकोटी । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएपछि प्रदेशसभा अन्तर्गत क निर्वाचन क्षेत्रमा माओवादी युवा नेता विशाल खड्का र प्रदेशसभा ख मा एमाले पोलिट व्युरो सदस्य पशुपति चौलागाईले टिकट पाएपछि उनीहरु दुबैजनाले चुनावी मैदान छाड्नुपरेको छ । अन्तिम समयमा आएर टिकट गुमाउनुपरेपछि चुनावमा उनीहरुको भुमिका बारे विभिन्न प्रश्न र आशंका सहितको चर्चा, परिचर्चा भैरहेका छन् । । यसै सेरोफेरोमा साझावोलीले उनीहरुसँग सम्वाद गरेको छ ।


• शिव प्रसाद भण्डारी—सदस्य, केन्द्रिय अनुशासन आयोग, पुर्व जिल्ला सचिव नेकपा एमाले दोलखा

shiva bhandari-sajhaboli

प्रदेशसभा अन्तर्गत दोलखा क्षेत्र नम्वर “क” को बलियो उम्मेदवार हुनुहुन्थ्यो, तर छाड्नुपर्ने अवस्था आयो कस्तो अनुभुति भैरहेको छ ?

यो मेरो व्यक्तिगत र निजी कुरा हो जस्तो लाग्दैन । मैले सुरुमा ईच्छा जाहेर गरेको थिएँ, त्यो स्वभाविक पनि थियो । जब वाम तालमेलको पार्टीले निर्णय लियो, पार्टीले गरेको निर्णय पश्चात मैले त्यसलाई स्वभाविक रुपमा लिएँ । त्यसपछि बाम तालमेलको लागि यता सहयोग गरौँ भन्ने हिसाबले मैले सोचिरहेको छु ।

–भनेपछि यसलाई सहज रुपमै लिनुभएको रहेछ, भनेर बुझ्नुपर्यो हैन ?
पार्टीको राजनितिमा पार्टीले गरेको निर्णय नै सर्वोपरी निर्णय हुने भएको हुनाले मैले मेरो व्यक्तिगत ईच्छा आकांक्षा, व्यक्तिगत स्वार्थभन्दा पार्टीको स्वार्थ वृहत र दुरगामी महत्व राख्ने भएको हुँदा मैले पार्टी निर्णयलाई शिरोपर गरँे र उम्मेदवारीको अवसरलाई मैले त्यागेँ ।

–त्यसो भए पार्टीले गरेको निर्णयप्रति कत्तिपनि गुनासो नभएकै हो ?
म लामो राजनितिक यात्रा पार गरेर आएको मान्छे हुँ । त्यो सन्दर्भमा मैले व्यक्तिगत गुनासा, असन्तुष्टि त्यस्तो केहिपनि राख्या छैन र राख्नुपनि हुँदैन भन्ने लागेको छ । पार्टीले जहिलेसम्म निर्णय गरेको थिएन, त्यो बेलासम्म मैले ईच्छा जाहेर गरेको थिएँ । पार्टीले दुरगामी महत्व राख्ने अहिलेको बाम गठबन्धन गर्दै चुनावी तालमेल गर्ने र भविष्यमा पार्टी एकतासम्म गर्ने उदेश्य राखेर अघि बढेको हुँदा मैले त्यसलाई सहज बनाउनुपर्छ, सहयोग गर्नुपर्छ, भन्ने लागेर खुसिले नै मैले यो निर्णय गरेको हुँ ।

–राजनितिक यात्रामा एउटा ठुलो अवसर गुमाईयो, पार्टीको निर्णयसामु निरिह बन्नुपर्यो जस्तो लागेन ?
मलाई निरिह भको जस्तोपनि लाग्दैन । व्यक्तिको स्वार्थ पार्टीको अधिनस्थ हुन्छ र एउटा असल र ईमान्दार कार्यकर्तालाई त्यो लाग्नुपनि हँुदैन, लाग्या पनि छैन, म निरिह पनि छैन । मैले पार्टी हितको निम्ति देश र जनताको निम्ति, दोलखालीहरुको वृहत्तर स्वार्थको निम्ति मैले व्यक्तिगत स्वार्थ त्यागेको हुँ ।


यो मेरो जिवनभर एउटा कम्युनिष्ट भएर बाँच्ने अभिलाषा राखेको छु । दोलखाली जनताको बृहत्तर हित नै शिव भण्डारीको जित हो । त्यसैले मेरो सवै समर्थक, शुभचिन्तकहरुलाई मेरो व्यक्तिगत कुरो भन्दापनि देश र जनताको कुरो ठुलो हो र त्यही बाटोमा लागेको हुँ । यहाँहरु कसैले पनि दुख नमान्दिनुहोला भनेर आग्रह गर्न चाहन्छु ।


–तँपाईले त, यसरी चित्त बुझाउनुभएछ । तर तँपाईप्रति शुभेच्छा, सद्भाव राख्ने धेरै कार्यकर्ता, सर्बसाधरण मतदाताहरु अर्को पार्टीको नेतालाई सुम्पिँदा धेरै असन्तुष्ट होलान्, उनीहरुलाई के भन्नुहुन्छ ?
मलाई मेरो पार्टीले सर्बसम्मत उम्मेदवार बनायो, क्षेत्र, जिल्ला हुँदै ३ नम्वर प्रदेशबाट केन्द्रसम्म मेरो नाम सिफारिस भएको हो । त्यो सिफारिस पार्टीले मलाई न्याय गरेको हो भन्ने मलाई लागेको छ । त्यसपछि मलाई माया ममता, सहयोग गर्ने मेरा समर्थक, शुभचिन्तकहरुलाई के भन्न चाहन्छु भने शिव भण्डारीले व्यक्तिगत राजनिति गरेको होईन, व्यक्ति स्थार्थमा लागेको थिएन । हिजो पञ्चायतकाल देखि निरन्तर यो क्रम जारी छ । यो मेरो जिवनभर एउटा कम्युनिष्ट भएर बाँच्ने अभिलाषा राखेको छु । दोलखाली जनताको बृहत्तर हित नै शिव भण्डारीको जित हो । त्यसैले मेरो सवै समर्थक, शुभचिन्तकहरुलाई मेरो व्यक्तिगत कुरो भन्दापनि देश र जनताको कुरो ठुलो हो र त्यही बाटोमा लागेको हुँ । यहाँहरु कसैले पनि दुख नमान्दिनुहोला भनेर आग्रह गर्न चाहन्छु ।

–तँपाईको राजनितिमा यति ठुलो ईतिहाँस, त्याग र योगदान छ, त्यसको मुल्यांकन हुनुपर्छ, लाभको अबसरपनि पाउनुपर्छ, भन्ने लाग्दैन ?
सबै मान्छेलाई लाभ हुन्छ, यो लाभका लागि राजनिति गर्ने हो भन्ने नै मलाई लाग्दैन । राजनिति भनेको सेवा हो । राजनिति भनेको लाभको निम्ति, नाफा नोक्सानको लागि लाग्ने हो भने व्यापार व्यवसाय, ठेक्कापट्टा गरे भैहाल्यो । मैले त्यहि बुझेको छु । जसले यो राजनिति कमाउने ठाउँ हो भन्ने बुझ्छ, त्यसलाई यो प्रश्न सोध्नुहोला ।

–होईन, निर्वाचित जनप्रतिनिधि बनेर झन बढि सेवा गर्न सकिन्थ्यो की भन्न खोजेको ?
म चाँही राजनितिलाई सेवा नै धर्म हो भनेर लागेको मान्छे हुँ । त्यसकारण जहाँ बसेरपनि सेवा गर्न सकिन्छ । हिजोदेखि आजसम्म छ, भोलीसम्म पनि मेरो उदेश्य त्यही हो । त्यसैले राजनिति कमाउने खाने, सुख सुविधा नै राजनितिमा लाग्नेहरुको लागि तपाईले भनेको पनि स्वभाविक होला, मलाई आफुलाई चाँही त्यस्तो लाग्दैन ।

–निर्वाचनमा यहाँको भुमिका चाँही कस्तो हुन्छ ?
अव तँपाईको आसय टिकट नपाको हुनाले केही असन्तुष्टि, गुनासा, भोली केही असहयोग पो गर्ने हो की भन्ने सन्दर्भसँग जोडिएको प्रश्नजस्तो लाग्यो । शिव भण्डारीको जिन्दगीमा एउटा बोल्ने अर्को गर्ने हुँदैन । जहिलेसम्म निर्णय गर्यो थिएन, त्यो बेलासम्म मेरा आफ्ना केही भनाईहरु, मतभिन्नताहरु थिए । जब पार्टीले एउटा निर्णय गर्यो, पार्टीले फैसला गर्यो त्यो फैसलालाई शिरोपर गरेर हिड्नुपर्छ भन्ने मलाई लागेको छ । त्यसैले म निर्वाचनमा पुर्ण रुपले बाम गठबन्धनका उम्मेदवार कमरेड विशाल खड्कालाई हाम्रो पार्टीको निति निर्देशन अनुसार सहयोग गर्नेछु । उहाँलाई विजय गराउने काममा लाग्नेछु । त्यो विजय नै शिव भण्डारीको पनि विजय हुनेछ । सिंगो दोलखालीहरुको विजय हुनेछ । एमाले माओवादीको पनि विजय हुनेछ भन्ने हिसावले म लाग्नेछु ।

 

• वालकृष्ण शिवाकोटी —सदस्य, नेकपा एमाले केन्द्रिय उद्योग विभाग तथा लगानी बोर्ड

balkrishna shiwakoti-shiwakoti

–लगभग पक्काजस्तै भएको टिकट गुमाउनुपर्दा कस्तो लाग्यो ?
कहिलेकाँही पार्टी जिताउन, परिबर्तन संस्थागत गर्नका लागि यस्तो हुन्छ । कार्यकर्ता र मतदाताको तहमा कस्तो छ, मलाई थाहा छैन तर हामीले पोलिट व्युरो सदस्य, सिनियर नेता प्रदेशसभामा आउँछु भनेपछि जिल्लाको, क्षेत्रको लागि राम्रो हुन्छ र मुख्यमन्त्रीको रुपमा पनि प्रस्ताव भएको हुनाले उहाँलाई छोड्दा हामीलाई कुनै आपत्ती छैन । यो पार्टीले गरेको निर्णय हो, राम्रो छ भन्ने लागेको छ ।

–होईन होला, यत्रो ठुलो अवसर गुमाउँदा गम्भिर पिडाबोध कसलाई नहोला र ?
व्यक्तिगत रुपमा हेर्दा त तपाईलाई त्यस्तो लाग्ला, तर समग्र पार्टीका लागि, पार्टीले जित्नुपर्छ, जति सिनियर नेता आए त्यत्ति राम्रो हुन्छ भन्नेकुरा हामीले बुझेका छौँ । त्यसले गर्दा व्यक्तिगत रुपमा टिकट पाईयो भनेर अन्तिम अवस्थामा नपाउँदा केही दुख लाग्नेकुरा सामान्य र स्वभाविक हो, यो मानविय स्वभाव पनि हो, यसलाई अन्यथा मान्नुपनि हुँदैन । तथापी हाम्रो सिनियर लिडरलाई हामीले २ नम्वर क्षेत्रमा पाएका छौँ । त्यसैले दुख मान्नुपर्ने कुनै कारण छैन ।
अहिले छोडेकोमा पश्चाताप गर्नुपर्छ भन्ने मलाई लाग्दैन । पार्टीले समयमा मुल्याङ्कन गर्छ भन्ने मलाई विस्वास छ । अब धेरै साथीभाईलाई निर्णय भैसकेको हो कि भन्ने भैसकेको थियो । त्यस्तो अवस्थामा धेरै साथीहरुलाई पिडा अवश्य भएको छ । म उहाँहरुलाई के भन्न चाहन्छु, भने यो पार्टीले गरेको निर्णय हो । यसलाई सामान्य रुपमा लिएर पार्टी जिताउन लाग्नुपर्छ ।

–तर तपाईको यो भनाई औपचारिकता मात्रै होईन र ? भित्रि असन्तुष्टि त, धेरै छरे नी ?
मलाई माया गर्ने कार्यकर्ता जनतालाई त्यस्तो लाग्नु एकदम सामान्य कुरा हो । किनभने मलाई धेरै कार्यकर्ता र मतदाताले धेरै माया गरेका थिए । मैले कतिपय ठाउँमा सुनेको थिएँ, यसपाली दुई नम्वर क्षेत्र, प्रदेशसभा ख मा बोल्न सक्ने हो भने गाईबस्तुले समेत भोट हाल्छु भन्थे होलान्, अबस्था यस्तोसम्म भएको थियो । त्यसले गर्दा यो किसिमको माया गर्ने कार्यकर्तालाई यस्तो लाग्नु एकदम सामान्य कुरा हो । तर मैले केही पाउँछु भनेर म पार्टीमा लागेको होईन, गर्दै जाँदा आएका चिजहरुलाई प्रयोग गर्नुपर्छ, त्यसमार्फत पनि जनताको केही सेवा गर्न सकिन्छ की भन्ने लागेको हो ।

अव मान्छेले सोचेको जस्तो यो नपाउँदाखेरी के के न हुन्छ भन्ने विल्कुल होईन । पाउनका लागि लागेको भए चाँही बहुत दुख लाग्थ्यो होला । गर्दै जाँदा पाईन्छ भन्ने कुरा हो, त्यसैले यो कुनै ठुलो चिज होईन । मैले केही गुमाएको त छैन नी । पाएको चिज गुमाएको भएपो पिडा हुन्थ्यो त ।
पार्टीले दोलखाको प्रदेशसभा (ख) मा टिकट दिनका लागि स्थायी कमिटिमा धेरै छलफल भयो । पार्टीका शिर्षस्थ नेताका बीचमा बालकृष्णपनि त्यहाँ छ, भन्ने किसिमले अर्थात मेरा बारेपनि धेरै कुराकानीहरु भए । त्यो नै मेरा लागि गर्बको विषय हो, त्यो नै मैले कमाएछु, आम कार्यकर्ता जनताका बीचमा वालकृष्ण चाहिन्छ भन्ने भो, नेताका बीचमा बालकृष्ण चाहिन्छ भन्ने भो, प्राविधिक रुपले बालकृष्णले नपाएको हो । त्यसैले मलाई कहीँ असन्तुष्टि छैन । कार्यकर्ता, जनतामा जे अपेक्षा थियो त्यो चाँही पुरा हुन सकेन त्यसमा मात्रै मलाई अलिकति पिडा भएको छ । नभए एक रत्ति पिडा छैन ।


बालकृष्ण तपाईहरुको साथमा छ, हिजो जति थ्यो त्यो भन्दा बढ्ता ढंगले तपाईहरुको साथमा रहनेछ । त्यसो भएको हुनाले तपाईहरुले कुनै किसिमको असन्तुष्टि व्यक्त गर्नु पर्दैन पार्टीले जित्छ, पार्टीलाई जिताउनका लागि लाग्नुस्, म त्यो आग्रह गर्न चाहन्छु ।


–तपाईप्रति शुभेच्छा प्रकट गर्ने धेरै कार्यकर्ता र मतदाताहरुमा पार्टीले गलत निर्णय गर्यो भन्ने होला, असन्तुष्टि होला, उनीहरुलाई के भन्नुहुन्छ ?
सबभन्दा पहिलो कुरो त, उहाँहरुले जुन किसिमको मप्रति सद्भाव देखाउनुभयो, त्यसका लागि हार्दिक धन्यबाद । म उहाँहरुको मनको नेता भएँ, उहाँहरुले मन पराएको मान्छे भएँ । यो मेरा लागि गौरबको कुरा हो । म उहाँहरुका निमित्त के गर्नुपर्छ, म पदमा रहँु नरहुँ, म पक्का गर्छु । त्यसैले कोही निराश हुनु पर्दैन । तपाईको मिडिया मार्फत यो भन्न चाहन्छु की बालकृष्ण तपाईहरुको साथमा छ, हिजो जति थ्यो त्यो भन्दा बढ्ता ढंगले तपाईहरुको साथमा रहनेछ । त्यसो भएको हुनाले तपाईहरुले कुनै किसिमको असन्तुष्टि व्यक्त गर्नु पर्दैन पार्टीले जित्छ, पार्टीलाई जिताउनका लागि लाग्नुस्, म त्यो आग्रह गर्न चाहन्छु ।

–एकाएक यसरी सन्तुष्ट व्यक्त गर्नुको पछाडी अरु कुनै कारणले पो काम गरेको छ की ?
होईन, मैले असन्तुष्टि नै जनाएको छैन, कसरी सन्तुष्टिको प्रश्न आउँछ । असन्तुष्टि जनाएको भएपो अहिले आएर सन्तुष्टि जनायो यसको केही पो हो की भन्ने कुरा आउँछ । मलाई पार्टी अध्यक्षले फोन गरेर भन्नुभयो, पार्टी निर्णय यस्तो भयो, सोही अनुसार काम गर्नुपर्छ भन्नुभको छ । म त गर्ब गर्छु, एउटा कार्यकर्तालाई यस्तो हुन्छ, यसो गर भनेर पार्टी अध्यक्षले भन्नुहुन्छ, पार्टीका बरिष्ठ नेताहरुले भन्नुहुन्छ, महासचिवले भन्नुहुन्छ भनेपछि मैले कहाँ असन्तुष्टि व्यक्त गरेँ र ? मैले असन्तुष्टि व्यक्त गरेको कसैले भन्न सक्छ र ? केही पनि असन्तुष्टि व्यक्त गरेको छैन । म पार्टीले जे निर्णय गर्छ, त्यसमा सन्तुष्टि व्यक्त गर्ने मान्छे हुँ ।

–त्यसो भए निर्वाचनमा तपाईको भुमिका कस्तो रहन्छ त ?
मेरो भुमिका नेकपा एमाले र बामपन्थी गठबन्धनबाट जो उम्मेदवारका रुपमा आउनुभएको छ, उहाँहरुलाई जिताउन पार्टीले दिएको भुमिका, निति निर्देशन पुर्ण रुपमा, अक्षरस् पालना गरेर, विजय गरेर, दोलखामा तीन वटै सिटमा बामपन्थी गठबन्धनलाई जिताउन कुनै कसर बाँकी नराखि सहयोग गर्नेछु ।

–भनेपछि चुनावका तपाईको भुमिकामा कुनै शंंका छैन ?
एकदमै छैन । कसैलाई आत्मा सन्तुष्टिका लागि यसले यसो गर्यो भनेर भन्छ भने केही भन्नु छैन । मैले व्यक्तिगत रुपमा सवै कार्यकर्ता साथीहरु, सबैलाई भनिसकेको छु । नोमिनेसन अगाडी केही कुराहरु हुन्छन्, प्रतिस्पर्धा भयो, सबैचिज नोमिनेसनपछि सकियो । अव हामी एमालेलाई जिताउन जो आएपनि एउटा पात्र हो, भनेर मैले स्पष्ट पारिसकेको छु । त्यही काममा त्यहीदिन देखिनै म लागिरहेको छु ।

VIEWS: 3931