माओवादी अध्यक्ष प्रचण्डसँग देवी ज्ञवालीको भेट, प्रचण्डलाई चुनाव जिताउन ज्ञवाली तयार
८ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा पुत्री रेणु दाहालबाट पराजित भएका देवी ज्ञवालीले केन्द्रिय प्रतिनिधि सभाको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा ज्ञवालीले बुधवार माओवादी अध्यक्ष प्रचण्डसँग भेटबार्ता गरेका छन् ।
बुधबार विहानै उनले ओली निवास बालकोटमा प्रचण्डसँग भेटबार्ता गरी अध्यक्ष प्रचण्डलाई आगामी निवार्चनमा विजय गराउन पर्ण सहयोग गर्ने बचन दिएका छन् । मतपत्र च्यातेर आफूलाई राज्य संयन्त्र दुरुपयोग गरेर हराइएको भन्दै तिव्र आक्रोस पोख्दै आएका ज्ञवाली प्रचण्डलाई सहयोग गर्न तयार भएका हुन् ।
प्रचण्डले ज्ञवालीलाई भेट्नासाथ तपाईबाट म प्रभावित भएँ भन्दै उनको खुलेर प्रसंसा गरे । जवाफमा ज्ञवालीले बाम गठबन्धन र पार्टी एकिकरणको प्रसंग कोट्याउँदै आफू प्रचण्डलाई जिताउन तयार रहेको प्रतिक्रिया दिए । तर उनले एमालेलाई प्रयोग मात्र गर्ने रणनिति नलिन, प्रचण्ड लड्ने प्रतिनिधि सभाको दुवै प्रदेशसभा एमालेलाई दिनुपर्ने लगाएतका केही सर्तहरु अघि सारे ।
भरतपुरकाण्डले एमाले र माओवादीबीचको विवाद पराकाष्ठसम्म पुगेको थियो । चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणासँगै देवी ज्ञवालीको भुमिका के हुन्छ भन्ने विषयमा सर्वत्र चासो छाईरहेका बेला ज्ञवाली प्रचण्डको चुनावी कमाण्डर बन्न तयार भएका छन् ।
निर्वाचनमा उनको भुमिका बारे प्रश्न उठिरहेका बेला ज्ञवालीले अध्यक्ष प्रचण्डलाई चुनाव जिताउने कसम खाएको भेटमा सहभागी एक नेताले बताए । भरतपुर महानगरपालिकाको मेयरमा आफुलाई षडयन्त्रपूर्वक हराइएको भन्दै ज्ञवालीले बदला लिने भनेर चर्चा समेत भएको थियो ।
आगामी निर्वाचनमा माओवादी अध्यप प्रचण्ड चितवन ३ मा प्रतिनिधिसभा सदस्यको उम्मेवार बन्ने तयारी छ । त्यसमा देवी ज्ञवालीको असहयोग हुँदा चुनाव चुनौतिपूर्ण हुने देखिएपछि दुवै दलका शिर्ष नेताले सम्बन्ध सुधार गर्ने पहल गरेका हुन् ।
प्रचण्ड र ओलीसँग संयुक्त भेटपछि ज्ञवालीले आफू प्रचण्डलाई जिताउन प्रतिबद्ध रहेको भन्दै पार्टीको निर्णय अनुसार अघि बढ्ने बताए ।