गठबन्धनका उम्मेदवारहरु चुनावी माहोल बनाउन सक्रिय, असन्तुष्टि मत्थर बन्दै
८ कात्तिक, दोलखा । आसन्न प्रतिनिधिसभा (संघ) र प्रदेशसभा निर्वाचनका लागि तालमेल र टिकट वितरणसँगै दोलखाको बाम गठवन्धनभित्र उत्पन्न असन्तुष्टि अन्त्य गर्ने प्रयास नेताहरुले थालेका छन् । बाम गठबन्धनका तीनै जना उम्मेदवारहरु प्रतिनिधिसभा पार्वत गुरुङ, प्रदेश नम्वर क का उम्मेदवार विशाल खड्का र प्रदशसभा ख का उम्मेदवार पशुपति चौलागाईले नेता कार्यकर्ताहरुको असन्तुष्टि मेटाउने प्रयास सुरु गरेका हुन् ।
दुई पार्टी कार्यकर्ताबीच विगतमा रहेका तिक्तता हटाई चुनावी अभियानलाई प्रभावकारी बनाउने विषयमा उनीहरुले उनीहरुले राजधानी काठमाण्डौँमा रहेका असन्तुष्ट उम्मेदवारका आकांक्षी र अगुवा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरेका छन् । दोलखामा बाम गठवन्धनबाट गुरुङ, खड्का र चौँलागाईले टिकट पाएपछि उम्मेदवारका केही आकांक्षी र जित्ने निर्वाचन क्षेत्र माओवादीलाई दिएको भन्दै केही अगुवा कार्यकर्ताहरु असन्तुष्ट थिए ।
एमालेले अन्तिम समयमा पोलिट व्युरो सदस्य चौलागाईलाई प्रदेशसभा ख को उम्मेदवार बनाएपछि अर्का नेता लालकुमार केसिले पार्टी परित्याग गरी मालेबाट उम्मेदवारी दिईसकेका छन् । यसैगरी टिकट पाउने लागभग पक्का भैसकेपनि अन्तिम समयमा अर्कै निर्णय आएपछि केन्द्रिय उद्योग विभाग तथा लगानी बोर्डका सदस्य वालकृष्ण शिवाकोटीपनि असन्तुष्ट थिए ।
उक्त असन्तुष्टि मत्थर पार्दै चुनावी माहौललाई प्रभावकारी बनाउन उम्मेदवारहरुले पहल सुरु गरेका हुन् । राजधानीमा बुधवार आयोजित कार्यक्रममा दोलखा क्षेत्र ख मा उम्मेदवारका आकांक्षी शिवाकोटीले पार्टीले गरेको निर्णयमा असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नभएको भन्दै बाम गठवन्धनका उम्मेदवारलाई बिजय गराउन आफु पुर्ण सहयोगका साथ लाग्ने बताए ।
प्रदेशसभा क मा उम्मेदवारका आकांक्षी शिव प्रसाद भण्डारी लगाएतले पनि पार्टीको निर्णय स्वीकार गर्दै निर्वाचन अभियानमा होमिने धारणा राखे । तीनै जना उम्मेदवारहरुले स्थानीय स्तरमा देखिएका असन्तुष्टि र गुनासाहरुलाई पनि छिट्टै अन्त्य गर्नेगरी योजना बनाएको बताएका छन् । प्रदेशसभा क का उम्मेदवार युवा नेता विशाल खड्काले चुनावी तालमेल र मनोनयन दर्तापछि उत्पन्न असन्तुष्टिहरु अन्त्य गरी आफुहरु एकमना एकताका साथ निर्वाचनमा होमिने दावी गरे ।
एमालेका अगुवा कार्यकर्ताबीच देखिएका गुनासा र असन्तुष्टि अन्त्यका लागि जिल्ला समन्वय समिति दोलखाका संयोजक समेत रहेका एमाले जिल्ला उपसचिव डबल पाण्डे, दोलखा काठमाण्डौँ सम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटी लगाएतका नेताहरु सक्रिय छन् ।