निर्वाचनका लागि दोलखामा ३८ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन

Wednesday, October 25th, 2017 |

कात्तिक ८, दोलखा । आगामी १० मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले ३८ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि १५ पार्टीका २६ र स्वतन्त्र १२ गरी ३८ जनाको अन्तिम नामावली प्रकाशन गरेको हो । उनीहरुलाई बुधवारै चुनावचिन्ह पनि प्रदान गरिएको छ । यही ५ गते जम्मा ४० जनाले मनोनयन दर्ता गराएकोमा २ जनाको भने उम्मेदवारी फिर्ता भएको छ ।

नेकपा मालेको तर्फबाट उम्मेदवारी दिएका गोविन्द विकले उम्मेदवारी फिर्ता लिएका हुन् भने प्रदेशसभा सदस्यका लागि दोलखा क्षेत्र नं. ख मा उम्मेदवारी दिएका जनसमाजवादी पार्टीका लक्ष्मण विश्वकर्माको उम्मेदवारी रद्द भएको हो ।

जनसमाजवादी पार्टी र मालेको चुनाव चिन्ह एउटै भएको कारण लक्ष्मण विश्वकर्माको उम्मेदवारी रद्ध भएको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार काफ्लेले जानकारी दिए ।

दोलखामा नेकपा एमाले, नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा माले, संघिय समाजवादी फोरम, विबेकशिल साझा लगाएतका दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर १० मा हुने निर्वाचनमा दोलखामा बाम गठबन्धन र प्रजातान्त्रिक गठबन्धनबीच दुईपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ ।

VIEWS: 351