गठबन्धनका उम्मेदवारहरु चुनावी माहोल बनाउन सक्रिय, असन्तुष्टि मत्थर बन्दै
८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १० मा हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बुधवार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दैछ । यहि ५ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गर्ने आयोगको तयारी छ ।
उम्मेदवारहरुमाथि परेको उजुरी र दावी विरोधको समय सकिएपछि बुधवार अन्तिम नामावली प्रकाशन गरिनेछ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा ३२ जिल्लामा आगामी मंसिर १० गते मतदान हुँदैछ । आयोगका अनुसार प्रतिनिधिसभा तर्फ ३२० र प्रदेशसभा तर्फ ४८२ गरी कुल ८०२ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई आज विहान १० बजेदेखि दिउँसो एक बजेसम्म समय दिइएको छ । त्यसलगत्तै अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ६ बजेभित्र चुनाव चिन्ह वितरण गर्ने कार्यतालिका छ । पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । दोस्रो चरण अन्तर्गत बाँकी ४५ जिल्लामा २१ मंसिरमा निर्वाचन हुनेछ ।