राजनितिक दलहरुमा लेनदेनमा टिकट लिने होड्बाजी

टिकट लिनेमा ठेकेदार, म्यानपावर व्यवसायी र मेडिकल माफियादेखि डनसम्म

Thursday, October 19th, 2017 |

२ कात्तिक । काठमाण्डौँ । प्रमुख राजनितिक दलहरु कांग्रेस, एमाले, माओवादी केन्द्रसहित ठूलासाना सबै दलमा यतिबेला टिकटको चटारो छ । समानुपातिक उम्मेदवारको बन्दसूची असोज २९ मा बुझाइए पनि प्राथमिकतामा अघि पर्न विभिन्न दबाब र प्रभाव पार्ने काम अझै कायमै छ । एकातिर बन्दसूचीमा परेका उम्मेदवारको नाम संशोधन गर्ने क्रम भइरहेको छ भने अर्कोतर्फ प्रत्यक्षतर्फ पहिलो चरणका ३२ जिल्लाका उम्मेदवार छनोट गर्ने काम पनि । यही मौकामा टिकट पक्का गर्न नेता र ‘बिचौलिया’ समात्ने जमात उत्तिकै छ ।

‘नेताहरूबीच पैसावालाहरूको जति चर्चा भइरहेको छ, पार्टीमा लामो संघर्ष गरेका र दुस्ख पाएका नेताकार्यकर्ताको त्यति छैन,’ कांग्रेसकै एक उच्च नेताले दुखेसो गरे, ‘पैसाले टिकट वितरण गर्न थालियो भने पार्टीको विचार र सिद्धान्त भन्ने चिज हराउँदै जाने देखिन्छ ।’ राजनीतिलाई अपराधीकरण गर्ने र अपराधीलाई राजनीतीकरण गर्ने मुहानको मुख्य स्रोत यहींबाट सुरु हुन्छ ।

एक नेताको टिप्पणी छ, ‘कांग्रेसले भ्रष्टाचार ठहर भई जेल सजाय भोगेका खुमबहादुर खड्कालाई टिकट वितरण गर्ने शक्तिशाली संसदीय समितिमा राख्नु र एमालेले गुन्डानाइके दीपक मनाङेलाई टिकट दिनुुजस्ता घटना अन्ततः शक्ति र पैसाकै तागत हो ।’

प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक गरी ८ सय बढी सांसद चुनिँदै छन् । राष्ट्रिय सभाबाट थप ५९ सांसद आउँछन् । त्यसमा उम्मेदवार बन्न विभिन्न पेसा व्यवसायमा लागेका व्यापारीदेखि डनसम्म तँछाडमछाडमा उत्रिएका छन् । आकांक्षीहरू दलबलसाथ राजधानी आएका छन् । उनीहरूको दिनचर्या नेताहरूको निवास धाउने हो । आजको कान्तिपुर दैनिकमा खवर छ ।

VIEWS: 211