प्रधानमन्त्री देउवाले गरे मन्त्रिपरिषद हेरफेर
माओवादी मन्त्रीहरुको जिम्मेवारी खोसियो
३१ असोज । काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रिहरुलाई जिम्मेवारी विहिन बनाउँदै मन्त्रिपरिषद् हेरफेर गरेका छन् । माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा नदिएपछि देउवाले उनीहरुलाई विनाविभागिय बनाएका हुन् । प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार विहान भेटी आफ्ना मन्त्री राजीनामा गराउन दबाब दिएका थिए ।
तर माओवादी मन्त्रीहरुको राजीनामा नआएपछि देउवाले केही मन्त्रालयको जिम्मेवारी राप्रपा मन्त्रीहरुलाई दिएका छन् भने केही मन्त्रालय आफुसँग राखेका छन् । देउवाले माओवादीले सम्हालेका गृह, परराष्ट्र, सामान्य प्रशासन, पशुपंक्षी विकास मन्त्रालय आफैंले लिएका हुन् । माओवादीले सम्हालेका ऊर्जा मन्त्रालयको जिम्मा राप्रपा अध्यक्ष कमल थापालाई दिइएको छ ।
राप्रपाका चार मन्त्री र चार राज्यमन्त्रीले केही दिनअघिमात्रै शपथ लिएका थिए । माओवादीले सम्हालेको स्वास्थ्य मन्त्रालयमा राप्रपा प्रजातान्त्रिकका दीपक बोहरालाई जिम्मा दिइएको छ भने आपूर्ति मन्त्रालयका जयन्त चन्द, सहरी विकास मन्त्रीमा दिलनाथ गिरी, महिला, बालबालिका तथा समाजकल्याढा मन्त्रीमा विक्रमबहादुर थापालाई लगिएको छ ।
माओवादीसँग एकता गरेको नेकपा संयुक्तकी मन्त्री मिथिला चौधरीलाई भने जिम्मेवारीविहीन बनाइएको छैन । राप्रपाका तीन राज्यमन्त्री भाष्कर भद्रालाई ऊर्जा, सुशीलकुमार श्रेष्ठलाई आपूर्ति र कान्ता भट्टराईलाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मा दिइएको छ ।
माओवादी मन्त्रीहरु राजीनामा दिने तयारीमा रहेपनि प्रधानमन्त्रीले निर्वाचन सार्ने तयारी गरेको भन्दै अन्तिम समयमा पछि हटेका थिए ।