यमपञ्चक अर्थात तिहार मंगलबारदेखि सुरु

देउसीभैलो बेलुका १० बजेसम्म, प्रज्वलनशील पदार्थ पड्काउन प्रतिबन्ध

Tuesday, October 17th, 2017 |

२९ असोज, काठमाडौं । यस वर्षको यमपञ्चक अर्थात् तिहार मंगरबार आजदेखि शुरु भएको छ । तिहार सिंगो मानव सभ्यताकै सांस्कृतिक पर्वका रुपमा लिईने तिहारको केही पौराणिक मान्यता छन् । यमपञ्चकको पहिलो दिन आज काग तिहार हो ।

अघिपछि खासै नरुचाइने कर्कस स्वर भएको कालो पक्षी कौवालाई यस दिन महत्त्वका साथ पुज्ने गरिन्छ । कागले मानिसको आदिम समयको संकेत गर्ने भएकाले कागलाई पुज्ने परम्पराज सुरु भएको मानिन्छ। सूचनाको बाहकका रुपमा कागलाई आजको दिन मानिसले पुजा सहित खानेकुरा दिने चलन रहि आएको छ ।

भोली कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवर्द्धन पूजा एवं कात्तिक ४ गते शनिबार भाइटीका परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने चलन रहेपनि शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिको भनाई छ ।

यस वर्षको भाइटीकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा परेको छ । यो वर्षको भाईटिका कात्तिक ४ गते शनिवार हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ ।

यसैविच सरकारले तिहार, छठ र नेपाल सम्वतको अवसरमा देउसी भैलो लगाएतका मनोरञ्जनात्मक कार्यका लागि निश्चित समय तोकेको छ । गृहमन्त्रालयले सार्वजानिक सुचना प्रकाशित गरी राती १० बजेसम्म मात्र त्यस्ता मनोरञ्जनात्मक कार्य गर्न सबैमा अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको सुचनामा भनिएको छ, देउसी, भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु गर्दा गराउँदा बेलुका १० बजेसम्म मात्र गर्न गराउनुहुन अनुरोध गरिन्छ ।

यस्तै स्थानीय प्रशासनले पटका, अतिसबाज जस्ता प्रज्वलनशील पदार्थ नपट्काउन, नल्याउन पनि सम्वन्धित सबैमा आग्रह गरेको छ । सूचनाको अवज्ञा गरी त्यस्ता कार्य गरेको पाईएमा प्रचलित कानुन अनुसार कारबाही गर्ने चेतावनी पनि स्थानीय प्रशासनले दिएको छ ।

VIEWS: 216