दोलखा प्रहरीले यसरी नष्ट गर्यो एकैदिन ठुलो परिमाणमा मदिरा तथा मदिराजन्य पदार्थ
साझावोली सम्वाददाता
२८ असोज । दोलखा । दोलखा प्रहरीले ठुलो परिमाणमा जिल्लाका विभिन्न स्थानमा विक्रि वितरणका लागि तयार गरिएको अबैध मदिरा शनिवार नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाबाट शनिवार खटि गएको प्रहरी टोलीले २ हजार ८ सय २२ लिटर घरेलु मदिरा, ४ हजार ४ सय ७० केजी मदिरा बनाउन राखिएको कच्चा पदार्थ र १ सय १० गाँजाको बोट नष्ट गरेको हो ।
जिल्लाको भिमेश्वर नगरपालिका बडा नम्बर ३, ६, ८, ९, विगु गाउँपालिका वडा नम्वर १, ५, बैत्यश्वर गाउँपालिका बडा नम्वर ५, मेलुङ गाउँपालिका वडा नम्वर ६ र ७, तामाकोशी गाउँपालिका वडा नम्वर १, ३ र ४, गौरीशंकर गाउँपालिका ८, शैलुङ गाउँपालिका ३ स्थित विभिन्न व्यक्तिहरुको घरबाट उक्त मदिरा बरामद गरी नष्ट गरिएको दोलखा प्रहरीले जनाएको छ ।
प्रहरीले मदिरा उत्पादनका लागि प्रयोग हुने भाँडाकुँडा तथा भिमेश्वर नगरपालिका ८ र तामाकोसि गाउँपालिका १ मा अबैध रुपमा विभिन्न व्यक्तिहरुको बारी तथा करेसाबारीमा उत्पादन गरिएको गाँजा समेत बरामद गरी नष्ट गरिएको जनाएको छ । बरामद मदिरा तथा मदिराजन्य पदार्थहरु स्थानीय बुद्धिजिवी, भद्रभलाद्मी र समाजसेवीको रोहबरमा नष्ट गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए । दोलखा प्रहरीले अपराध न्युनिकरणको अभियान अन्तर्गत गाँजा तथा अबैध घरेलु मदिरा नियन्त्रण कार्य जारी रहेको जनाएको छ ।