मंसिरको निर्वाचन ः असोज २९ भित्र निर्वाचन अधिकृतको कार्यालय खोलिसक्ने तयारी

Wednesday, October 11th, 2017 |

२५ असोज । काठमाण्डौँ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको मंसिर १० गते हुने पहिलो चरण चुनावका लागि असोज २९ भित्र सबै जिल्लामा मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारी गरेको छ । निर्वाचन अधिकृत छनौट भइ आवश्यक तालिमसमेत दिइसकिएकाले उक्त मितिमा सवै जिल्लामा कार्यालय खोल्ने तयारी भएको आयोग प्रवक्ता सहसचिव नवराज ढकालले जानकारी दिए ।

प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका ३ सय ३० क्षेत्रका लागि निर्वाचन अधिकृत तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतबाहेक ८८ न्याय सेवाका उपसचिवलाई क्षेत्र तोकी निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत भने जिल्ला न्यायाधीशलाई तोकिएको छ । आवश्यकता अनुसार जिम्मेवारी दिने गरी ९ जना निर्वाचन अधिकृतलाई जगेडामा राखिएको छ ।

जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय रहने छ । आयोगले ३२ वटा हिमाली तथा पहाडी जिल्लाको निर्वाचन पहिलो चरणमा राखेको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लामा प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ,पाँचथर र खोटाङ, प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश ५ का रुकुम९पूर्वी भाग० छन् । प्रदेश ६ का रुकुम ९पश्चिम भाग०, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पनि पहिलो चरणमा निर्वाचन हुने हो । बाँकी ४५ जिल्लामा दोस्रो चरणमा मसिंर २१ गते निर्वाचन हुने छ ।

दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा कात्तिक ९ गते निर्वाचन अधिकृतको कार्यालय खोलिने प्रवक्ता ढकालले जानकारी दिए ।

VIEWS: 257