सामुदायिक फार्म सञ्चालनमा जुट्दै गाउँपालिका

Sunday, August 21st, 2022 |

 

भोजपुर ५ साउन

जिल्लाको आमचोक गाउँपालिकाले कृषिमा आत्मनिर्भर बन्न आफ्नै लगानीमा घारे सामुदायिक कृषि फार्म सञ्चालनमा ल्याएको छ ।

कृषकलाई व्यावसायिक बनाएर आधुनिक कृषिमा जोड दिँदै उनीहरुलाई नमूनाका रुपमा देखाउन गाउँपालिकाले करिब रु ६० लाख लागतमा कृषि फार्म सञ्चालनमा ल्याएको हो । करिब एकसय २० रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएर कृषि फार्म सञ्चालन गरिएको छ । यसलाई पूर्वको एक नमूना कृषि फार्म बनाउने गाउँपालिकाले जनाएको छ । यसलाई कृषि अनुसन्धान स्थलका रुपमा स्थापित गर्ने लक्ष्यसाथ माछापालन, कागती खेती, बाख्रापालन फलफूल तथा तरकारीखेती गरिएको छ ।

यो गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । फार्ममा अहिले प्रत्यक्षरुपमा तीन जनाले रोजगारी पाएका छन् । कृषिमा चासो राख्ने कृषकले फार्ममा गएर पशुपालन, फलफूल तथा तरकारीखेती प्रविधिका विषयमा प्रत्यक्षरुपमा ज्ञान लिन सक्नेछन् ।

खेतीमा नयाँ प्रविधि भित्र्याएर यहाँको भूमिलाई कृषि पर्यटनका रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले बताए । परम्परागत खेती प्रणाली निर्वाहमुखी मात्र भएकाले स्थानीय कृषकलाई व्यावसायिक खेतीमा जोडेर गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने सोच रहेको अध्यक्ष राईको भनाइ छ ।

“हाम्रो मुख्य बाँच्ने आधार कृषि हो”, अध्यक्ष राईले भने, “गाउँपालिकालाई कृषिमा नमूना बनाउने लक्ष्य छ । यो सामुदायिक कृषि फार्म यही उद्देश्यले सञ्चालनमा ल्याएका छौँ । यसको सम्पूर्ण आर्थिक व्यवस्थापन गाउँपालिकाले गरिरहेको छ ।”

घारे सामुदायिक कृषि फार्मको नामबाट सञ्चालनमा आएको यसलाई एक कृषि अनुसन्धान गर्ने ठाउँका रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष राईको भनाइ छ । त्योसँगै गाउँपालिकाको आन्तरिक आर्थिक स्रोतका रुपमा स्थापित गर्ने उनले बताए । फार्मलाई उत्पादन र रोजगारसँग जोडेर लैजाने उनको भनाइ छ ।

अध्यक्ष राईले भने, “यसलाई कृषिको अनुसन्धान केन्द्रका रुपमा स्थापित गराउने लक्ष्य छ । कृषकलाई व्यावहारिक ज्ञान दिन पनि सहज छ । यो फार्मलाई गाउँपालिकाको आर्थिक स्रोतसँग जोड्दै स्थानीयलाई रोजगारी प्रदान गर्छौं ।”

आगामी दिनमा स्थानीय ऐनको निर्माण गरेर निजी लगानी कर्ता भित्रयाएर थप विस्तार गरेर लैजाने गाउँपालिकाले जनाएको छ । लगानीका आधारमा फार्मबाट आएको आम्दानीलाई गाउँपालिकाको आयस्रोतका रुपमा राख्ने जनाइएको छ । “यो फार्म सञ्चालनका लागि गाउँपालिकाको आफ्नै नीति बनाउछौँ”, अध्यक्ष राईले भने, “त्यही नीतिका आधारमा यसको विकास तथा विस्तारमा जोड दिएर गाउँपालिकाको आर्थिक स्रोतका रुपमा विकास गर्ने योजना छ ।”

फार्ममा कागती, एभोकार्डो, किबी, टिमुर, आँप लिचीलगायत फलफूलका बिरुवमा उत्पादन भइरहेको छ । आधुनिक प्रविधिको खोरमा बाख्रापालन, माछापालन भइरहेको छ । त्यस्तै टमाटर, प्याज, बन्दाकोभीलगायत विभिन्न खालका तरकारीको खेती थालिएको छ । कृषकलाई प्रत्यक्षरुपमा खेतीका विभिन्न प्रविधिका विषयमा जानकारी दिएर सिकाउँदा काम गर्न सहज हुने गाउँपालिकाका कृषि शाखा प्रमुख भूमिश्वर यादवले जानकारी दिए । शाखा प्रमुख यादवले भने, “अहिले हामीले नै यसको प्रत्यक्ष निगरानी गरिरहेका छौँ । खेती गर्न इच्छुक किसानलाई प्रत्यक्षरुपमा ज्ञान दिन्छौँ । आवश्यक मापदण्डसँगै प्रविधिको प्रयोग गरेर खेती गरेमा कृषिबाट राम्रो लाभ लिन सकिन्छ ।”

आफूले खेती गर्दा नजानेको कुरा फार्मबाट सिक्ने अवसर पाएको स्थानीय कृषक शिवकुमार राईले बताए । “गाउँपालिकाले नै फार्म सञ्चालन गरेर नमुनायोग्य काम गरेको छ”, कृषक राईले भने, “हामीलाई फार्मबाट धेरै सिक्ने अवसर मिलेको छ । खेतीको नयाँ प्रविधिका विषयमा जान्न मन लागेमा यहाँ आएर हेर्छौं ।”

गाउँपालिकाले सञ्चालन गरेको फार्ममा रोजगारी पाउँदा खुसी लागेको स्थानीय समीक्षा मगरले बताइन् । विदेशमा श्रम गर्न जानुभन्दा आफ्नै ठाउँमा कृषि कर्ममा रमाउन पाउँदा खुसी लागेको मगरको भनाइ छ । काम गर्दै सीप सिक्ने अवसर पाएको उनले बताए । मगरले भने, “आफ्नै ठाउँमा रोजगारी पाउँदा निकै खुसी लागेको छ । हामी तीन जनाले यहाँ रोजगारी पाएका छौँ । यसको विस्तार हुँदै जाँदा अझै अन्य स्थानीयले पनि रोजगारी पाउने अवस्था छ ।”

गाउँपालिकाले यहाँ चियाखेतीकोसमेत विस्तार गरिरहेको छ । करिब एक हजार पाँच रोपनी क्षेत्रमा लगानी गरेर काम भइरहेको गाउँपालिका उपाध्यक्ष सीता राईले बताइन् । दक्षिणी क्षेत्रबाट तराईका जिल्लासँग दुरी छोटो भएकाले यो क्षेत्र भविष्यमा धनकुटाको भेडेटार जस्तै बन्ने सम्भावना रहेको उपाध्यक्ष राईको भनाइ छ । चिया खेती विस्तारको काम पनि धमाधम भइरहेको छ ।

“हामीले कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्य लिएका छौँ”, उपाध्यक्ष राईले भनिन्, “यहाँ धेरै चियाका लागि उपयुक्त जमिन छन् । ती ठाउँमा गाउँपालिकाको लगानीमा खेती विस्तार भइरहेको छ । यो क्षेत्र तराईका जिल्लाबाट नजिकै पर्ने भएकाले मानिसलाई प्राकृतिक मनोरञ्जन लिने ठाउँ बनाउने उद्देश्य छ ।”
स्रोत ःरासस

VIEWS: 196