असारको अन्तिममा मल आइपुग्ने मन्त्रालयको दाबी !

Thursday, June 9th, 2022 |

 

काठमाडौँ  २६ जेठ

 

जेठ महिनाको अन्तिमबाट नै धानको रोपाँई सुरुहुने भएपनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असार अन्तिम सम्ममा मल आइपुग्ने दाबी गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न प्रक्रियाबाट मल आपूर्तिका लागि प्रयास भइरहेको र असार मसान्त सम्म मल आइपुग्ने जनाएको हो । मल खरिदका लागि कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ र सरकारले जीटूजीबाट गरेको पहलबाट मल ल्याउन प्रयास भइरहेको दाबी मन्त्रालयको छ ।

असार मसान्तसम्म कुल एक लाख ९२ हजार मेट्रिकटन मल आइपुग्छ,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यसमा भारतसंगको जीटूजीको ५० हजार मेट्रिकटन युरिया र ३० हजार मेट्रिकटन डिएपी पनि छ ।’

आपूर्तिको क्रममा रहेकामा साल्ट ट्रेडिङले खरिद गरेको मध्ये २० हजार मेट्रिकटन डिएपी, २२ हजार मेट्रिकटन युरिया छ । यस्तै कृषि सामग्रीले खरिद गरेको मध्येबाट ३० हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डिएपी असारको दोस्रो साताबाट नेपाल भित्रिने मन्त्रालयको दाबी छ ।

असारको अन्तिम सातामा भारतसंगको जीटूजी अन्र्तगतको ५० हजार मेट्रिकटन युरिया र ३० हजार मेट्रिकटन डिएपी पनि आइपुग्ने मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कोभिढ र बढ्दो अन्तराष्ट्रिय मूल्यका कारण मल आपूर्तिको जिम्मा पाएका ठेकदारले २ लाख २२ हजार मेट्रिकटन मल समयमै आपूर्ति नगरेको पनि मन्त्रालयले जनाएको छ । स्रोत ः अनलाइनखबर

VIEWS: 198