लालबन्दीबाट १ महिनामा १९ करोडको तरकारी निकासी !

Friday, June 3rd, 2022 |

 

सर्लाही २० जेठ

 

सर्लाहीको लालबन्दीबाट मात्रै एक महिनामा करिब रु। १९ करोडको तरकारी निकासी भएको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यावस्थापन समितिमार्फत सञ्चालित तरकारी बजारबाट एक महिनामा उक्त रकम बराबरको तरकारी निकासी भएको हो ।

वैशाख महिनामा मात्र रु। १८ करोड ९९ लाख ४० हजार ६३० को तरकारी निकासी भएको समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार वैशाखमा निकासी भएको तरकारीमध्ये सबैभन्दा धेरै गोलभेँडा निकासी भएको हो ।

समितिका अनुसार उक्त महिनामा गोलभेँडा मात्रै रु नौ करोड ४७ लाख ४३ हजारको निकासी भएको हो । त्यसपछि बोडी रु। एक करोड ९४ लाख ७९ हजारको निकासी भएको छ ।

लालबन्दी, ईश्वरपुर, हरिवन नगरपालिकालगायत छिमेकी नगर र गाउँपालिकाबाट समितिद्वारा सञ्चालित तरकारी बजारमा तरकारी आउने गरेका छन् । गोलभेँडा, टमाटर, पर्वल, सिमी, भिण्डी, काउली, बन्दा, भान्टा, घिरौँला, झिम्नी, लौका, फर्सी, मुन्टा, करेला र मूलालगायत तरकारी लालबन्दीबाट देशका विभिन्न स्थानमा जाने गरेको समितिले जनाएको छ ।

जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन नगरलगायत छिमेकी नगरपालिका र गाउँपालिकाका स्थानीयवासीले करिब एक हजार बिघाभन्दा बढी क्षेत्रमा उत्पादन गरेको तरकारी लालबन्दी आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको समितिका अध्यक्ष तोरणबहादुर मगरले बताए ।

जिल्लाका स्थानीय किसानले व्यावसायिकरुपमा उत्पादन गरेको तरकारी काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणघाट, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, रामेछाप, सिन्धुली, सुनसरी र विराटनगरका साथै छिमेकी देश भारतका विभिन्न स्थानमासमेत जाने गरेको अध्यक्ष मगरको भनाइ छ ।

तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिकरुपमा तरकारी खेतीप्रति आकर्षित हुँदै आइरहेका छन् । परम्परागत अन्नबाली छाडेर व्यावसायिक तरकारीखेती गर्दै आइरहेका जिल्लाका किसानले करिब एक हजार बिघाभन्दा बढी जमिनमा तरकारीखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सर्लाहीका कार्यालय प्रमुख कमलदेव प्रसाद कुशवाहले बताए ।

विगतमा घरपरिवार पाल्न भारतका विभिन्न ठाउँका साथै खाडी मुलुकमा मजदूरीका लागि जाने किसान अहिले तरकारीखेतीमा किसान रमाइरहेका छन् भने तरकारीखेतीले किसानको जीवनस्तरमा निकै परिवर्तन ल्याएको छ ।

जिल्लाका गाउँगाउँमा सडक विस्तार भएपछि व्यापारी तरकारी बारीमै पुगेर तरकारी खरिद गर्ने गरेका किसान रामपुकार महतोले बताए । तरकारी उत्पादनबाट गाउँमा बर्सेनि चार÷पाँच करोड रुपैयाँ भित्रिने गरेको भए पनि भण्डारणको व्यवस्था नहुँदा समस्या भएको लालबन्दीका किसानको गुनासो छ ।

गाउँका सबैजसोले तरकारी उत्पादन गर्ने गरेका र यहाँ उत्पादन भएको तरकारी जैविक तरकारी भएकाले देशका ठूला सहरमा समेत जाने गरेको कृषि विज्ञको भनाइ छ । स्रोत ःरासस

VIEWS: 188