दुबै कतार पुग्यो नेपाली कुरिलो

Monday, June 20th, 2022 |

 

चितवन ६ असार

 

चितवनमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजार दुबै र कतार समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गर्नुभएको कुरिलो अहिले दुबई र कतार पुगेको हो ।

एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ । मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन् । उनले सातामा दुई पटक कुरिलो लाने गरेका छन् ।” एक पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको उनको भनाइ छ । आफूहरुले सिधै कुरिलो विदेश पठाउन भने नपाएको उहाँको गुनासो छ । विगत छ वर्षदेखि कुरिलो उत्पादन गर्दै आएका सुवेदीले अहिले दैनिक ३० जनालाई रोजगारी दिँदै आएका छन् । कुरिलो खेती दुई बिगाह क्षेत्रफलमा गर्दै आएका सुवेदीले क्षेत्रफल बढाउने तयारीमा रहेको समेत जानकारी दिए । कुरिलो खेतीबाट मात्रै वार्षिक रु। २० लाख आम्दानी गर्ने गरेको उनको भनाइ छ । वार्षिक १५ हजार किलो कुरिलो बिक्री गर्ने गरेको सुवेदीले बताए ।

उनका अनुसार कुरिलो उत्पादनका लागि वैशाखदेखि भदौसम्मको समय उत्तम भए पनि सोही समयमा मूल्यमा गिरावट हुने गरेको छ ।” बजारमा स्वस्थ प्रतिस्पर्धा नहुँदा समस्या रहेको उनले गुनसो गरे । अहिले बजारमा कुरिलोको मूल्य प्रतिकिलो रु। ३०० रहेको छ । आफू २५ वर्षको उमेरदेखि कृषि कर्ममा लागेको बताउँदै उनी नेपालमा काम गरे विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने अनुभव सुनाउँछन् ।

उहाँले १८ बिगाह क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । सो जग्गामध्ये दुई बिगाह आफ्नो हो भने अन्य जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती गरेका छन् । सुवेदीको बारीमा अहिले काँक्रो, फर्सी, घिरौला, चिचिन्डा, बोडी, लौकालगायतका तारकारी उत्पादन भइरहेका छन् । उत्पादित तरकारीको अहिले बजार मूल्य न्यून रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तरकारीको मूल्यको कुरा गर्नेहो भने लागत मूल्य पनि उठ्न कठिन छ ।” बुबाआमाले विसं २०५० देखि गर्दै आएको यो व्यवसाय भएकाले आफूले यसलाई व्यावसायिकरुप दिएको उहाँको भनाई छ ।

कुरिलो र तरकारीलाई व्यावसायिकरुपमा खेती गर्दै गर्दा पनि अहिलेसम्म राज्यका कुनै निकायको यसतर्फ ध्यान जान नसकेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “राज्यले कृषिमा दिने अनुदान किसानको हितमा छैन ।” शक्तिको आडका आधारमा अनुदान दिइने गरेको जनाउँदै उहाँले वास्तविक किसानले अहिलेसम्म अनुदान पाउन नसकेको बताउनुभयो ।स्रोत ः रासस

VIEWS: 187