हावाहुरीले सयौँ विगाहको केराखेती नष्ट !

Sunday, June 12th, 2022 |

 

कैलाली २९ जेठ

कैलालीमा शनिवार बेलुका आएको हावाहुरी सयौ विगाह क्षेत्रफलमा लगाइएको केरा खेतीमा ठुलो क्षति गरेको छ ।

हावाहुरीको कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ बिघा केराखेती नष्ट भएको किसानको गुनासो छ । टीकापुरका केरा किसान टेकेन्द्र धामीको १० बिघामा लगाएको केराखेती हावाहुरीले ढालेको छ ।

केरा उत्पादन हुने समय नजिकिँदै गर्दा हावाहुरीले केराखेतीमा नोक्सानी गरेपछि किसान पीडामा छन् । टीकापुर केराखेतीका लागि उर्वर भूमि मानिन्छ । यहाँ सयौँ बिघा जमिनमा केरा खेती गरिएको छ । हावाहुरीले कतिपय किसानले लगाएको केरा पूरै ढालेको छ ।

यसका साथै हावाहुरीले तरकारी खेतीमा समेत नोक्सानी गरेको किसानको गुनासो छ । ‘लहरे तरकारी बाली सबै ढालेको छ । लटरम्म फलेका बोडी, फर्सी, काक्रा, लौका, करेलाजस्ता तरकारीमा नोक्सान भएको छ’, किसान झपिन्द्र चौधरीले जानकारी दिए, उनका अनुसार ‘तरकारी बारी पूरै हावाहुरीका कारण धुलाम्मे भएको छ । माटो र बालुवा आएर बारीमा भरिएको छ ।’

हावाहुरीका कारण क्षति भएका विवरण आइरहेकाले क्षतिको विवरण संकलन गरी नगरपालिकाले पीडामा रहेका किसानलाई राहतका कार्यक्रम ल्याउने टीकापुर नगरउपप्रमुख खड्कबहादुर शाहले जानकारी दिए । ‘जताततैबाट क्षति भएको विवरण आउन थालेका छन्’, उनले भने, ‘आज कार्यपालिका बैठक र विपद् व्यवस्थापन समितिको बैठक बसेर राहतका कार्यक्रम ल्याउँछौँ ।’

हावाहुरीसँगै वर्षा भएपछि भने यहाँ शीतलता महसुस भएको छ । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको अवस्थामा वर्षा भएपछि केही शीतलता महसुस गरेका छन् । स्रोत ः रासस

VIEWS: 493