कृषि केन्द्रित बजेट आउने अर्थमन्त्रीको सङ्केत !

Wednesday, May 18th, 2022 |

 

काठमाडौ ४ जेठ

 

आगामी आर्थिक वर्ष २०७९र८० को लागि आउने बजेट कृषि क्षेत्र केन्द्रित कार्यक्रम सहित ल्याउने संकेत अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले भूमिगत तथा सतह सिँचाइ सुविधा विस्तार गर्ने, सहकारीमार्फत चक्लाबन्दी खेती विस्तार गर्नेलगायतका योजना सुनाएका छन् ।

किसानलाई सिँचाइ प्रयोजनमा विद्युत महसुल छुट दिने सरकारको तयारी छ । यसबाहेक आगामी बजेटमा वित्तीय साधनमा किसानको पहुँच बढाउने, बीउ, कृषिसम्बन्धी सीपमूलक तालिम र प्राविधिक सहयोगमा समेत बजेट केन्द्रित हुने अर्थमन्त्री शर्माले बताएका छन् । कृषि बजारको पहुँच विस्तारदेखि नश्ल सुधार र पशु स्वास्थ्य सेवाको विस्तारमा समेत बजेट केन्द्रित हुने भएको छ ।

अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको विनियोजन विधेयक, २०७९ को सिद्धान्त तथा प्राथमिकता अनुसार कृषि र उद्योगलाई बजेटले यस पटक धेरै जोड दिनेछ । अर्थमन्त्री शर्माका अनुसार यी क्षेत्रबाट आधारभूत वस्तुका उत्पादन बढाइने छ । जसले स्वदेशमै उत्पादन सम्भव भएका वस्तुको उत्पादन गर्न स्वदेशी उद्योगहरुलाई सहज वातावरण बन्नेछ ।

यद्यपि यसमा अर्थमन्त्री शर्माले कस्तो नीति ल्याउँदैछन् भन्ने संकेत बजेट सिद्धान्त तथा प्राथमिकतामा देखिदैन । तर, अन्तर्राष्ट्रिय मूल्य श्रृङ्खलामा आवद्ध वस्तुको उत्पादन नेपालभित्रै गर्न आवश्यक वातावरण बनाउने भन्दै उनले लगानीमैत्री नीतिको संकेत भने गरेका छन् ।

बजेट खर्च बढाउन के गर्ने योजना ?

सरकारले हरेक वर्ष आलोचना खेप्ने विषय विनियोजन दक्षता हो । खर्च गर्न सम्भव नभएको, खर्च नहुने आयोजनामा बजेट राख्ने र आर्थिक वर्षको अन्तिम चौमासिकमा रकमान्तर गर्ने प्रवृत्ति नेपालमा छ ।

आगामी बजेटमा आर्थिक तथा प्राविधिक हिसाबले सम्भाव्य आयोजनामा मात्र बजेट राख्ने र अनुत्पादक खर्च कटौती गर्ने घोषणा अर्थमन्त्रीको छ । खास गरी सरकारको चालु खर्चलाई कटौती गरी त्यसलाई केही लोक रिझाउने खालका कार्यक्रममा सरकारले बजेट राख्ने सम्भावना यस पटक छ ।

VIEWS: 245