महमा भन्दा घारमा नाफा !

Friday, April 22nd, 2022 |

 

बाग्लुङ् ९ बैशाख

बागलुङ नगरपालिका–४ रमेटारका डिलबहादुर खत्रीका एक सय १५ मौरीका घार छन् ।

खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राख्नुभएको छ । खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पाल्नुभएको छ ।

म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा ११ वर्षअघिदेखि सुन्तला खेती गर्दै आउनुभएका खत्रीले विसं २०७२ बाट मौरीपालन गर्न थाल्नुभएको हो । सन् २००२ मा इलेक्ट्रोनिक्स कामका लागि दुबई जानुभएका खत्री दुई वर्षमै नेपाल फर्किन प¥यो । उनी पुनः मलेसिया गए तर त्यहाबाट पनि सन् २००९ मा फर्किपु प¥यो ।

मलेसियाबाट फर्केपछि खत्रीको आफ्नै घरको पाखो बारीमा सुन्तला खेती गर्ने सोच पलायो । वैदेशिक रोजगारीमा राम्रो नभएपछि खत्री सुन्तला सँगै मौरीपालनमा आकर्षित भएको बताउँछन् । उनको १० रोपनी जग्गामा रहेका दुई सय सुन्तलाका बोटले आम्दानी दिइराखेका छन् ।

उनले यस वर्षमात्रै रु छ लाख सुन्तला बेचेरै कमाइ भएको थियो । सुन्तलामा मनग्य आम्दानी देखेका उनले घर नजिकैको १० रोपनी बाँझो जग्गा भाडामा लिएर अहिले दुई सय सुन्तलाका नयाँ बिरुवा लगाउनुभएको छ । खत्रीको घर बागलुङ नगरपालिका–४ रमेटारमा समेत छ । रमेटारमा मौरी र सुर्केमेलामा सुन्तला खेती विस्तारमा उहाँको ध्यान छ ।

स्थानीय सेरेना जातको मौरीपालन गर्दै आउनुभएका खत्रीले दुई वर्षदेखि मौरीपालनको क्षेत्र बागलुङलाई रोज्नुभएको छ । उहाँले मौरीको महभन्दा मौरीसँगैको घार बिक्रीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । खत्रीले गत वर्षमात्रै एक सय १० मौरीसहितको घार बिक्री गरेर १० लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको र एक क्विन्टल मह बिक्रीबाट एक लाख १३ हजार रुपैयाँ आम्दानी गरेको बताउनुभयो ।

हाम्रो आम्दानी वार्षिक हुन्छ, यही वर्ष सुन्तला, मौरीको घार र मह बिक्री गरेर रु १७ लाखभन्दा बढी आम्दानी गरेको रहेछुु, खत्रीले भन्नुभयो, मेरो लगानी २० लाख रुपैयाँ पुग्यो, दुई सय सुन्तलाका बिरुवाले उत्पादन दिनै बाँकी छ, नयाँ सोचका साथ कृषिमा आएको थिएँ, राम्रो आम्दानी भएको छ, म्याग्दीमा सुन्तलाका लागि राम्रो मानियो भने बागलुङको रमेटारमा मौरीपालन ।

खत्रीले कृषि ज्ञान केन्द्र बागलुङ र म्याग्दीले किसानलाई दिने मौरीसहितको घार अनुदानका लागि दिन आफ्नै केसी मौरीपालन स्रोत केन्द्रबाट लैजाने गरेको बताउनुभयो । महभन्दा मौरीसहितको घार बिक्रीमा फाइदा छ, मौरीसहितका घारलाई रु नौ हजार ५०० पर्छ, खाली घारलाई रु तीन हजार ५०० पर्छ । मह केजीको रु एक हजार ३०० पर्छु, खत्रीले भन्नुभयो, मैले आफैं घार निर्माण गरेर मौरी व्यवस्थापन गर्दै आएको छु, मौरीसहितका घार र सुन्तला बिक्री नै मेरो मुख्य लक्ष्य हो ।

खत्रीले १० रोपनी बाँझो पल्टिएको जग्गालाई १५ वर्षका लागि वार्षिक रु २० हजारका दरले भाडा तिरेर सुन्तला खेती गर्दै आउनुभएको छ । मौरीको चरनका लागि तोरीखेती हुने क्षेत्र उपयुक्त हुने भएकाले रमेटारमा मौरीपालन व्यवसाय फष्टाएको उहाँको भनाइ छ ।

मौरीपालन र सुन्तला खेतीमा श्रीमती खिरादेवी खत्रीले सघाउँदै आउनुभएको छ । श्रीमती रमेटार मौरी व्यवस्थापनमा हुँदा डिलबहादुर सुर्केमेलामा सुन्तला व्यवस्थापन गर्ने कार्यमा जुट्नुहुन्छ ।

सुन्तलाको फूल र तोरीको फूलका कारण मौरीपालन राम्रो हुँदै आएको छ । रमेटारमा भने उहाँले अर्कैको खेतमा मौरी व्यवस्थापन गर्दै आउनुभएको छ । घारलाई सजिलै स्थानान्तरण गर्न मिल्ने भएकाले चरनका लागि यताउता लैजान मिल्ने उहाँको भनाइ छ । स्रोत ः रासस

VIEWS: 224