पोल्ट्री क्षेत्रलाई राम्रो बनाउन व्यवसायमैत्री नीतिको माग

Sunday, January 2nd, 2022 |

 

धनगढी १८ पौष

‘एक दिन होइन, हरेक दिन अण्डा र मासु भान्साको सान, सर्वोत्तम प्रोटिन स्वास्थ्य जीवन’ भन्ने नाराका साथ शनिबार धनगढीमा मनाइएको नवौँ राष्ट्रिय पोल्ट्री दिवसमा यस क्षेत्रलाई राम्रो बनाउन व्यवसायमैत्री नीति आउनुपर्ने व्यवसायीहरुले माग गरेका छन् । कुखुरापालन व्यवसायले नेपाली अर्थतन्त्रमा धेरै योगदान पुर्याएको जनाउँदै व्यवसायमैत्री उचित नीति बनाएर अघि बढ्नुपर्ने व्यवसायीको माग छ ।

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङले व्यवसायको प्रवद्र्धन गरी आर्थिक रुपान्तरणमा लाग्न जरुरी भइसकेको जनाउँदै पौल्ट्री व्यवसायीका समस्या समाधानमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल–भारतबीच रहेको खुला सीमाको फाइदा उठाउँदै अवैध ढङ्गले हुने अण्डा र कुखुराको तस्करीले पोल्ट्री व्यवसाय सङ्कटमा परेको व्यवसायीको गुनासो छ ।

“मासु र अण्डामा आत्मनिर्भरउन्मुख भए पनि दानामा आत्मनिर्भर हुन सकिरहेका छैनाँ”, कुखुरा तथा अण्डा उत्पादक सङ्घ कञ्चनपुरका अध्यक्ष विक्रम नाथले भने, “व्यवसायीले अपेक्षित फाइदा पाउन नसके पनि देश अण्डा र मासुमा आत्मनिर्मरउन्मुख भइरहँदा गौरवको अनुभूति भइरहेको छ ।” पछिल्ला वर्षमा युवापुस्ताको आकर्षण बढेको यो व्यवसायको बजारीकरण गर्नमा समेत स्पष्ट नीति र कार्यक्रम बनाउनु जरुरी भइसकेको व्यवसायीको माग छ ।

पोल्ट्री क्षेत्रको समग्र विकासका लागि सरकारले पोल्ट्री नीति बनाएको भए पनि प्रभावकारी कार्यान्वयन नभइरहेको जनाइएको छ । अण्डा र मासुमा प्रोटिन पाइने भएकाले बालकदेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिले यसको उपभोग गर्न सक्ने व्यवसायीको भनाइ छ ।

पछिल्लो समय पोल्ट्रीमा नयाँ–नयाँ प्रविधि भित्रिरहेको अवस्थामा उत्पादन वृद्धिसँगै खपत पनि बढाउनुपर्ने चुनौती व्यसायीमा देखिएको छ । कुखुरा तथा अण्डा उत्पादक किसान सङ्घ कैलालीका अध्यक्ष भुवन पाण्डे ब्रोइलर कुखुराको हकमा सुदूरपश्चिम पूर्णरूपमा आत्मनिर्भर भइसकेको भए पनि अण्डाको माग भने धेरै रहेको बताउँछन् ।

सुदूरपश्चिममा दैनिक झण्डै पाँच लाख अण्डाको माग रहेकामा दुई लाख ५० हजार मात्र उत्पादन भइरहेको छ । अण्डा र कुखुराको मासुको महत्व, पोल्ट्री व्यवसायका समस्या तथा निराकरण, व्यवसायको नीतिगत समस्यालगायतका विषयमा विभिन्न व्यक्तिले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए ।

एक लाख ५० हजारभन्दा बढी व्यक्तिले प्रत्यक्षरूपमा रोजगार पाएको यो व्यवसायले राज्यको कूल गार्हस्थ उत्पादनको तीन दशमलव पाँच प्रतिशत हिस्सा ओगटेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशलाई दूध, माछा, मासु र अण्डामा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७७र७८ को तथ्यङ्कमा भने प्रदेशमा माछामासु, दूध र अण्डाको उत्पादन घट्दा मागअनुरुप आपूर्ति हुनसकेको देखिँदैन ।

विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार यस प्रदेशमा प्रतिव्यक्ति प्रतिवर्ष आवश्यक दूध, मासु र अण्डाको कोटा अपुग छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुदूरपश्चिम प्रदेश दूध तथा मासुमा आत्मनिर्भर हुने अवस्थामा पुगेको भए पनि अण्डाको आपूर्ति भने कम रहेको जनाएको छ ।

प्रदेशमा प्रतिव्यक्ति प्रतिवर्ष सरदर ८० दशमलव ७९ लिटर दूध, १० दशमलव ६८ किलो मासु र ३० दशमलव ४१ गोटा अण्डा आपूर्ति भइरहेको जनाइएको छ । मन्त्रालयले प्रदेशलाई आत्मनिर्भर बनाउन दूधमा ३० हजार ४८६ लिटर उत्पादन वृद्धि गरी पाँच वर्षमा दुई लाख ६० हजार ४८६ लिटर , मासुमा पाँच हजार ८४१ मेट्रिक टन वृद्धि गरी ३४ हजार ९२८ मेट्रिक टन र अण्डामा १९ हजार ६२३ गोटा वृद्धि गरी पाँच वर्षमा ६१ हजार ८७० गोटा पुर्याउने लक्ष्य लिइएको छ ।

यस्तै माछाको उत्पादन दुई हजार १२८ मेट्रिक टनबाट चार हजार मेट्रिक टन पुर्याउने तथा पशुपक्षी क्षेत्रबाट पाँच वर्षका अवधिमा थप एक लाख १५ हजार प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । स्रोत ः रासस

VIEWS: 322