खाद्य कम्पनीले सुरु ग¥यो धान खरिद

Sunday, December 19th, 2021 |

कञ्चरपुर ४ पौष

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले टोकन प्रणालीमार्फत किसानबाट धान खरिद गर्न थालेको छ । अधिकांश किसानले व्यापारीलाई धान बेचेपछि कम्पनीले बल्ल खरिद गर्न शुरू गरेको हो । कार्यालयले किसानबाट मोटो धान प्रतिक्विन्टल रू। २ हजार ७५२ का दरले खरिद गर्न शुरू गरेको छ ।

गत भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७५२, मध्यम धानको रु २ हजार ९०२ निर्धारण गरेको थियो । अन्य धानको हकमा खरिद कमिटीले मूल्य तय गर्ने बताइएको छ ।

सरकारले निर्धारण गरिएको मूल्यअनुसार कम्पनीको कार्यालयले मोटो धान मात्र खरिद गर्न थालेको हो । कार्यालयका निमित्त शाखा प्रमुख तपेन्द्र उपाध्यायका अनुसार प्रत्येक हप्ताको शुक्रवार कार्यालयबाट किसानलाई टोकन वितरणको व्यवस्था गरिएको छ । हप्ताका बाँकी पाँच दिन आइतवारदेखि बिहीवारसम्म धान खरिद हुने गरेको छ ।

‘धान खरिदका लागि गत शुक्रवारदेखि टोकन वितरणको कार्य गरेका हौं,’ निमित्त शाखा प्रमुख उपाध्यायले भने, ‘४८ ओटा टोकन वितरण गरिएका छन् । डेढ सय क्विन्टल हाराहारीमा नयाँ धान खरीद गरिएको छ ।’ केन्द्रीय कार्यालयबाट मोटो धान खरिदका लागि स्वीकृति पाएअनुसार किसानबाट सो धान मात्रै खरिद भइरहेको उनले बताए ।

‘एक जना किसानबाट अधिकतम ३० क्विन्टल धान खरिद गर्छौं,’ उनले भने, ‘तोकिएको परिणामभन्दा बढी धान किसानसँग छ भने जग्गाधनी प्रमाण पूर्जा, नागरिकताको प्रतिलिपिसहित कृषि ज्ञान केन्द्रको सिफारिस माग्ने गरेका छौं ।’ व्यापारीले चलखेल गर्न सक्ने भएकाले सहज रूपमा किसानको धान खरीद गर्न कोटा निर्धारण गरिएको उनको भनाइ छ । बेमौसमी वर्षाका कारण धानबाली खेतमै उम्रिएपछि थोरै मात्र किसान धान विक्रीका लागि कम्पनीको कार्यालयमा टोकन माग्न पुग्ने गरेका छन् ।

कम्पनीको कार्यालयमा धान विक्रीका लागि पुग्ने किसान भीमदत्त नगरपालिका क्षेत्रका मात्रै रहेका छन् । कम्पनीको शाखा कार्यालयलाई ६ हजार क्विन्टल धान खरिद गर्ने अनुमति छ । गतवर्ष कम्पनीको शाखा कार्यालयलाई १३ हजार क्विन्टल धान खरिद गर्नका लागि कोटा निर्धारण गरिएको भए पनि ९ हजार ४७९ क्विन्टल धान मात्रै खरिद गरेको थियो ।

कञ्चनपुरमा ४८ हजार ४९३ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा। दिलबहादुर विष्टका अनुसार वर्षाबाट ६९ हजार २७३ मेट्रिकटन धानमा क्षति भएको छ । स्रोत ः रासस

VIEWS: 246