सेनाको हेलिकप्टरबाट खाद्यान्न ढुवानी

Tuesday, November 30th, 2021 |

 

हुम्ला १४ मङ्सिर
खाद्यान्न अभाव भएपछि जिल्लाको नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमवारदेखि खाद्यान्न ढुवानी थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि खाद्यान्न ढुवानी नभएपछि यहाँ भोकमारीको खतरा देखिएको थियो । हेलिकप्टरमा सिमकोट र हिल्साबाट खाद्यान्न लिमी पुर्‍याइएको हो । लिमीका लागि ५०२ क्विन्टल खाद्यान्न ढुवानी गरिने बताइएको छ ।

पुनः मंगलवार सिमकोट र हिल्साको खाद्यान्न ढुवानी गरिने प्रजिअ आचार्यले जानकारी दिए । लिमी, हल्जी, तील, जाङ र हल्जीमा ढुवानी गरिएको खाद्यान्न वितरण गरिने वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।

खाद्यान्न अभाव भएपछि स्थानीय प्रशासनलाई गुहार्न लिमीबाट २७ सदस्यीय टोली सिमकोट आइपुगेको थियो । खाद्यान्न ढुवानीका लागि पहल गर्न संघीय सांसद् रङ्गमती शाही लिमी पुगेका थिए । स्रोत ः रासस

VIEWS: 187