माछामा चितवन जिल्ला आत्मनिर्भर

Monday, November 22nd, 2021 |

 

चितवन ६ मङसिर

नेपाल मत्स्य व्यवसायी सङ्घले जिल्लालाई माछामा आत्मनिर्भर भएको घोषणा गरेको छ । जिल्लामा हाल चार हजार ३८ मेट्रिक टन माछा वार्षिक उत्पादन हुँदै आएको र दुई हजार ६०० मेट्रिक टन खपत हुँदै आएको संधको तथ्यांक छ । यहाँ वार्षिक तीन हजार मेट्रिक टन माछाको माग हुने गरेको सङ्घका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिए । उनको अनुसार यस वर्ष उत्पादन बढेर छ हजार ६५३ मेट्रिक टन माछा उत्पादन हुने लक्ष्य राखिएको छ । एक हजार ३०७ व्यावसायिक माछा खेती गर्नेहरु रहेको छन् । जहाँ दुई हजार ८३१ जनाले प्रत्यक्ष रोजगार पाइरहेका छन् ।

जिल्लामा उत्पादित माछामध्ये दैनिक दुई टन जिल्ला बाहिरका बजारमा जाने गरेको सो अवसरमा जानकारी दिइयो । जिल्लामा हाल दैनिक एक टन माछा छिमेकी राष्ट्र भारतबाट आउने गरेको भए पनि जिल्लाको बजारलाई यहीको उत्पादनले धान्ने गरेकाले यस जिल्लालाई माछामा आत्मनिर्भर भएको सङ्घले घोषणा गरेको हो । यहाँ उत्पादित माछाको मुख्य बजार चितवन, पोखरा र काठमाडौँ रहने गरेको छ । जिल्लाका मुख्य बजारमा केही मात्रामा फर्मालिन प्रयोग गरिएका माछा देखिएको भन्दै उहाँले यसलाई रोक्नका लागि स्थानीय निकायसँग सहकार्यका लागि माग गरिएको बताउनुभयो । अहिले चितवनको बजारमा एक हजार ५०० मेट्रिक टन बिक्रीका लागि तयारी भए पनि स्टकमा राखिएको छ ।

विसं २०३८ सदेखि माछापालन सुरु गरिएको यस जिल्लामा विसं २०६७ देखि व्यावसायिक रुपमा सुरु गरिएको थियो । माडीको गोपालनगर र भरतपुरको शङ्कर चोकमा व्यक्तिगत प्रयोजनका लागि माछा पालिएको भए पनि यसको बिस्तारको अवधि विसं २०४८ बाट सुरु भएको मान्न सकिन्छ । राज्यले माछापालन व्यवसायमा विसं २०४८ बाट अनुदान दिन थालेको थियो । व्यावसायिक हुन नसकेको यो व्यवसाय अहिले आएर व्यावसायिकसँगै आत्मनिर्भर भएको नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय महासचिव जोगेन्द्र चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले मत्स्य व्यवसायीलाई आत्मनिर्भर घोषणा गर्नका लागि कुनै निकायले ध्यान दिन नसकेकाले हामी आफैँले घोषणा गर्नुपरेको हो ।”

यहाँ सात सय हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरिएको छ । माछापालनका लागि ५१३ हेक्टर क्षेत्रफल मात्रै प्रयोग भएको छ । नेपालमा अहिले ५५ हजार मेट्रिक टन माछा खपत हुँदै आएको छ । जसमध्ये ३० देखि ४० प्रतिशत नेपालको उत्पादनले धान्दै आएको छ । नेपालमा उत्पादित माछाभन्दा बाह्य बजारबाट आएका माछा व्यवसायीले सस्तोमा पाउने भएकाले नेपाली बजारमा ती माछाको प्रयोग वढ्दो क्रममा रहेको चौधरीको भनाइ छ । देशभरि ७० प्रतिशत व्यवसायीले विदेशी माछाको प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । स्रोत ः रासस

VIEWS: 275