१३ वर्षको वैदेशिक रोजगारीलाई विट मारेर किवी खेतीमा रमाएका शेर्पा

Monday, November 22nd, 2021 |

दोलखा ६ मङसिर
कामको शिलशिलामा जाँहा पुगेपनि आफ्नो गाउँ ठाउँमा रमाउने चाहाना नभएको मानव सायदै होला, यस्तै मध्येका एक हुन् दोलखा जिल्ला जिरी नगरपालिका यालुङ २ का पासाङ तेन्जिङ शेर्पा । १३ वर्ष लामो बैदेशिक रोजगारीलाई विट मारेर आफ्नो ठाउँमा केहि गरौ भन्ने चाहाना सहित उनले २०७१ साल तिर किवी खेती गर्नका लागि सर्वाखास अर्गानिक कृषि फार्म प्रा.लिको शुरुवात गरे । लामो समय विदेश बसेर थोर वहुत कमाएको पैसाबाट जोडेको काठमाडौको घडेरी नै विक्री गरि आफुले गाउँमा किवी खेतीको सुरुवात गरेको उनि बताउँछन् । ८५ रोपनी क्षेत्रफलमा फैलिएको उनको फार्ममा हाल हेवार्ड, एलिसान, बुर्नो र र रेड किवी जातको १२५० किविको विरुवा रहेको छ ।

उनको मेहनत र परिश्रम देखेर स्थानियहरु पनि दङग पर्दछन् । फार्ममा ३ जनाले नियमित रोजगारी पाएका छन् भने उनको फार्मलाई सरकारी निकायहरु किवी जोन, जिरी नगरपालिका, हिमाली प्रोजेक्ट बाट पनि राम्रो सहयोग मिलेको छ । उनको काममा परिवारले राम्रो सहयोग गरेका छन् भने समाजमा पनि उनको कामको प्रशंसा हुन थालेको छ । विभिन्न सामाजिक संस्थाहरुबाट उनले सम्मान समेत पाएका छन् ।

आफु जस्तो युवाहरुलाई सहि तरिकाले प्रोत्साहन गर्न सरकारले अझ धेरै कार्यक्रमहरु ल्याउनुपर्ने उनको बुझाइ छ । सरकारी स्तरबाट विनियोजन भएको बजेट उत्पादनमुलक क्षेत्र र विशेष गरी ग्रामिण किसानको हितमा जानुपर्ने उनको धारणा छ ।

विगत १ वर्षबाट किवीको फल विक्री सँगै विरुवा उत्पादन गर्ने काम समेत शेर्पाले गदै आएका छन् यस वर्ष १ हजार किवी फलको विरुवा उत्पादन गर्ने उनको लक्ष्य रहेको छ, र अगामि दिनमा यो फार्मलाई नेपालको नै नमुना किवी फार्म बनाउने उनको योजना रहेको छ । फार्ममा हाल सम्म १ करोड ५० लाख लगानी भैसकेको शेर्पाले जानकारी दिए ।

उनले किवीका विरुवाहरुलाई २ पटक मलजल र काटछाँट गदै आएका छन् भने यस वर्ष थोपा सिँचाइ प्रविधि जडान गर्ने उनको योजना रहेको छ ।

VIEWS: 329